नेपाल पहिलो खेलमा पराजित
काठमाडौं, १६ असार ।
सुरुबाती र मध्यक्रमका ब्याट्सम्यान खुलेर खेल्न नसक्दा नेपालले नेदरल्याण्डस्बिरुद्धको पहिलो ट्वान्टि २० म्याच गुमाएको छ । बिश्व बरियातामा नै प्रभाव पार्ने ४ म्याचको सिरिजमा नेपाल १–० ले पछि परेको छ । बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपनि ब्याट्सम्यान चल्न नसक्दा नेपाल १८ रनले पराजित हुन पुग्यो ।
१ सय ३५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाई १ सय १६ रनमात्र जोड्न सक्यो । कप्तान पारस खड्काले नटआउट ४५ र उपकप्तान ज्ञानेन्द्र मल्लले २४ रन बनाएपनि अन्य ब्याट्सम्यान क्रिजमा धेरैबेर टिक्न सकेनन् । राजेश पुलामीले १३ र शरद भेषावकरले १० रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक नै छुन सकेनन् । ईङ्ल्याण्डमा भएको अन्तिम अभ्यास खेलमा ६९ रनको बिष्फोटक पारी खेलेको बिनोद भण्डारी ५ रनमा आउट भए भने प्रदीप ऐरीले ६, सुवास खकुरेल र करण केसी समान २ रनमा आउट भए । ८ रन अतिरिक्त पाएको नेपालका बसन्त रेग्मी एक रनमा नटआउट रहे । मल्लले आफ्नो पारीमा चार वटा चौका प्रहार गरेपनि अन्य ब्याट्सम्यानले बिरलैमात्र वललाई बाउण्ड्री कटाएका थिए । नेपाली ब्याट्सम्यानले २ वटा छक्का र ७ वटा चौकामात्र प्रहार गर्न सकेका थिए । आसान मल्लिकले ३ र तिम भानडर गुग्टेनले २ विकेट लिएपछि नेपाल कम स्कोरमा समेटियो ।
नेदरल्याण्डस् बिरुद्ध ब्याटिङ्ग गर्दै नेपाली ब्याट्सम्यान ( तस्विर सौजन्य क्यान )
यसअघि टस जितेर ब्याटिङ्ग गरेको नेदरल्याण्डस्ले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ३४ रनको मध्यम योगफल तयार पारेको थियो । उसलाई मध्यम स्कोरमा रोक्ने क्रममा बसन्त रेग्मीले २ तथा करण केसीले १ विकेट लिए । २ खेलाडी रन आउट भएको नेदरल्याण्डसका लागि स्टेफन मेबर्गले नटआउट ६७ रन बनाएका थिए । त्यस्तै मिचेल रिपोनले २५ र पिटर बोरेनले १५ रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंक छुन सकेनन् । ७१ रनमा ५ विकेट गुमाएको स्थिति सम्हाल्दै छैठौं विकेटका लागि मेवर्ग र रिपोनले नटआउट ६३ रनको साझेदारी गरेपछि नेदरल्याण्डस् सम्मानजनक योगफल तयार पार्न सफल भएको थियो ।
सिरिज अन्तरगतको दोस्रो म्याच आज हुनेछ ।