गुल्मीमा अजिंगर फेला पर्यो
जनार्दन घिमिरे
गुल्मी, १५ असार : गुल्मी जिल्लाको हस्तिचौर गाविसमा एउटा अजिङ्गर फेला परेको छ । हस्तिचौर गाविस ८ स्थीत पालुखामा फेला परेको उक्त अजिंगरलाई जिल्ला वन कार्यालयले सदरमुकाम तम्घासमा राखेको छ ।
सोमबार बेलुकीपख स्थानीयहरुले बिरालो खाँदै गरेको अवस्थामा अजिङ्गर फेला पारेपछि वन कार्यालयमा खबर गरेका थिए । तराई क्षेत्रमा फेला पर्ने अजिंगर गुल्मीमा पनि फेला परेको थाहा पाएपछि अजिङ्गर हेर्न आउने मानिसहरुकोे दिनभर भीड लागेको थियो ।
वन कार्यालयले उक्त अजिङ्गर मंगलबार बिहान रेसुङ्गास्थीत जंगलमा छाड्न लैजाँदै गर्दा स्थानीयहरुले थाहा पाएपछि उक्त जंगलमा छाड्नका लागि रोक लगाएका छन् । स्थानीयहरुको अवरोध पछि जंगलमा छाड्न लैजाँदै गरेको अजिङ्गरलाई वन कार्यालयले बिचबाटाबाटै फर्काउन बाध्य बनेको थियो ।
उक्त अजिङ्गरलाई अहिले जिल्ला प्रहरी कार्यालय परिसरमा पानी राख्ने ड्रमभित्र राखिएको छ । अजिङ्गरलाई उपयुक्त बासस्थानको खोजी गरेर मात्र छाडिदिने जिल्ला वन कार्यालयका प्रमुख विशाल घिमिरेले वताए । करिव २० केजी तौल रहेको सो अजिङ्गरको लम्बाई चार मिटरभन्दा बढी रहेको बताइएको छ ।