Live Streaming

मिल्यो विवाद, मस्यौदा आज पेस हुने

काठमाडौं,१५ असार । दलहरुले नयाँ संविधानको एकीकृत मस्यौदामा देखिएको भाषिक विवाद सुल्झाएका छन् । विहान बसेको बैठकमा १६ बुँदे सहमति र त्यसअघि भएका अरु राजनीतिक सहमतिका आधारमा संविधानको भाषा मिलाउने सहमति भएपछि संविधानको एकीकृत मस्यौदा आज संविधानसभामा पेश हुने भएको छ ।

अहिले त्यही सहमति अनुसार मस्यौदाको भाषिक पक्ष मिलाउने काम भइरहेको स्रोतले जनाएको छ ।  विवाद टुंग्याएपछि आजै साँझ साढे ६ बजे बस्ने संविधानसभाको बैठकमा मस्यौदा पेश गर्ने एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिनुभयो । विवाद विहानै मिले पनि मस्यौदा सम्पादन गर्ने काम नसकिएका कारण बैठक साँझका लागि सारिएको संविधानसभा सचिवालयले जनाएको छ । यसअघि बैठक दिउँसो २ बजेका लागि डाकिएको थियो ।

मस्यौदा समितिका सभापतिले दलहरुबीचको सहमति विपरित संविधानको अपरिवर्तनिय धारामा लोकतान्त्रिक संसदीय ब्यवस्था थपेको भन्दै एमाओवादीले विरोध गरेको थियो । हिजो राति अबेरसम्म र आज विहान बसेको चार दलिय बैठकमा सो बाक्याशं प्रस्तावनाबाट हटाउने सहमति भएपछि दलहरु मस्यौदा संविधानसभामा पेश गर्न पनि सहमत भएका हुन् ।