१५ दिन भित्र बस्ति सार्नुपर्छ : मन्त्रीपरिषद
काठमाडौं,१५ असार । भूकम्पको कारण पहिरोको उच्च जोखिममा परेका बस्तीहरु सरकारले दुई साताभित्र सुरक्षित ठाउँमा सार्ने भएको छ । मन्त्रीपरिषद्को आज बिहान बसेको बैठकले बस्ती स्थानान्तरणका लागि उपयुक्त स्थानको पहिचान र आवश्यक कार्ययोजना बनाउन भन्दै उपप्रधान तथा गृहमन्त्री बामदेब गौतमको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ ।
समितिमा स्थानीय विकास मन्त्री प्रकाशमान सिंह र सहरी विकास मन्त्री नारायण खड्का सदस्य रहनुभएको छ । बैठकले बस्ति सार्ने विषयमा समन्वय गर्न गृह, स्थानीय र सहरी विकास मन्त्रालयलाई दिएको निर्देशन तत्काल अगाडि बढाउन आग्रह गरेको थियो । यसअघि हिजोको मन्त्रिपरिषद बैठकले गृह, स्थानीय विकास र शहरी विकास मन्त्रालयलाई जतिसक्दो छिटो जोखिमयुक्त बस्ती सार्ने जिम्मा दिएको थियो ।
शहरी बिकास मन्त्रालयले भूकम्पबाट अति प्रभावित ८ जिल्लाका तेह्र हजार चार सय ७५ जोखिमयुक्त घरधुरी सार्नुपर्ने निष्कर्ष निकालेको छ । यसअघि खानी तथा भूगर्भ विभाग र बिज्ञ सहितको टोलीले ति क्षेत्रलाई जोखिपूर्ण भन्दै बस्ती स्थानान्तरण गर्न सरकारलाई सुझाव दिएको थियो । त्यही अनुसार मन्त्रालयले बस्ती स्थानान्तरण गर्ने प्रस्ताव आजको मन्त्रिपरिषद बैठकमा पेस गरेको थियो । वर्षा याम सुरु भैसक्दा पनि सरकारले जोखिममा परेका जनताको पुनःस्थापनामा ध्यान नदिएको आरोप लागिरहेका बेला मन्त्रिपरिषद्ले समितिलाई काम गर्ने अख्तियारी दिएको हो ।