Live Streaming

​आज राष्ट्रिय धान दिवस

काठमाडौ,१५ असार । राष्ट्रिय धान दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यसै क्रममा विभिन्न संघसंस्थाले धान दिवसका अवसरमा विभिन्न कार्यक्रम पनि आयोजना गर्दैछन । आजका दिनलाई रोपाईं महोत्सवका रुपमा समेत मनाउने गरिन्छ ।

विशेषतः किसानहरुले आज रोपाईं गरेर यो दिवस मनाउने गर्छन् । नेपाल कृषिप्रधान देश भएकाले पनि यो दिनको विशेष महत्व रहँदै आएको छ । धान दिवसकै अवसरमा आज देशैभरी विविध औपचारिक कार्यक्रमको आयोजना गरिएको छ । यसवर्षको धान दिवसको नारा धान खेतीमा यान्त्रिकीकरण, उत्पादन लागतमा न्यूनीकरण तय गरिएको छ ।

 खेतमा रोपाईं गरेर दही–चिउरा खाने हुनाले आजका दिन दही–चिउरा खाने दिनका रुपमा समेत परिचित रहीआएको छ । सरकारले २०६० सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउने घोषणा गरेपछि यस दिनले थप व्यापकता पाउँदै गएको छ ।

कृषिमा परनिर्भरता बढ्दै गएका कारण  उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउन थालिएको हो ।  धानबालीका लागि योग्य कूल करिब १४ लाख २५ हजार हेक्टर जग्गामध्ये असार १४ सम्म ८ प्रतिशतमात्र रोपाइँ भएको कृषि मन्त्रालयका सहप्रवक्ता शङ्करप्रसाद सापकोटाले जानकारी दिनुभयो । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । नेपालमा चैते धान, वर्षे धान, घैया धानको खेती हुँदै आएको छ ।