बजेट अधिवेसन आजबाट सुरु
काठमाडौं,१५ असार । व्यवस्थापिका संसदको बजेट अधिवेशन आज सुरु हुदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामवरण यादवले आज अपरान्ह तीन बजेबाट वर्षे अधिवेशन आव्हान गर्नुभएको हो । आजको बैठकमा राष्ट्रपति कार्यालयबाट बजेट आव्हान सम्बन्धि पत्र पढेर सुनाउने कार्यसूचि छ । जेठको दोस्रो साताबाट अधिवेशन बस्ने परम्परा भएपनि भुकम्पका कारण ढिला गरी अधिवेशन सूरु हुन लागेको हो । सरकारले ढिलामा २८ गतेभित्र आगामी आर्थिक बर्षको बजेट संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ ।
यद्यपी चालु आर्थिक वर्ष सकिन १७ दिनमात्र बाँकी रहेकाले प्रिबजेट र सरकारको नीति तथा कार्यक्रम माथिको छलफल भने प्रभावित हुने देखिएको छ । प्रिबजेटमाथिको छलफल सकिएको १५ दिनपछि मात्र बजेट संसदमा प्रस्तुत गर्नुपर्ने नियमावली भएपनि हिजो बसेको कार्यब्यवस्था परामर्श समितिको बैठकले नियम निलम्बन गर्नुपर्ने आवश्यकता औल्याएको थियो । प्रिबजेटमाथिको छलफल बढीमा तीन दिन सञ्चालन गर्ने र त्यसपछि सरकारको नीति तथा कार्यक्रम माथि छलफल गराउने तयारी संसद सचिवालयले गरेको छ ।
अघिल्लो बजेट अधिवेशन एकीकृत माओवादी लगायत बिपक्षी दलहरुको अवरोधका कारण बारम्बार प्रभावित भएको थियो । प्रतिपक्षी दलहरुको बिरोध हुने संकेत देखिएपछि सरकारले हिउँदे अधिवेशन भने आव्हान नै गरेन । भुकम्पपछि प्रभावितहरुका लागि राहत, पुर्नस्थापना र पुननिर्माण सम्बन्धि साझा संकल्प प्रस्ताव पारित गर्न बिशेष अधिवेशन बसेको थियो ।