मस्यौदा विवादको अन्त्यका लागि दलहरु छलफलमा
काठमाडौं,१५ असार । संविधानसभामा पेश गरिने मस्यौदामा देखिएको विवाद अन्त्यको प्रयासमा दलहरु बिहानैबाट छलफलमा जुटेका छन् । १६ बुँदे सहमति विपरित मस्यौदा समितिले पहिलो एकीकृत मस्यौदा तयार गरेको भन्दै एमाओवादीले गम्भीर असहमति जनाएपछि मस्यौदा संविधानसभामा प्रस्तुत हुन सकेको छैन । संविधानसभा बैठक बारम्बार स्थगित गर्दै दलहरु छलफलमा जुटेपनि सहमति हुन नसकेपछि गएराती बसेको संविधानसभा बैठक राप्रपा नेपालका नेता पद्यमसुन्दर लावतीको निधनमा शोक पस्ताव पारित गर्दै आज अपरान्ह २ बजेसम्मका लागि स्थगित भएको हो ।
सहमतिका लागि भन्दै दलहरुले अपरान्ह ३ बजेका लागि बोलाईएको बैठक साँझ ७ र त्यसपछि ९ बजेसम्मका लागि स्थगित गरेपनि राती पौने एक बजेमात्र बसेको थियो । विगतमा भएको सहमति विपरित, मस्यौदा समितिका सभापति कृष्ण सिटौलाको रोहवरमा मस्यौदामा प्रयोग भएका शब्दहरु परिवर्तन भएको भन्दै एकीकृत माओवादीले हस्ताक्षर समेत गर्न मानेको छैन । हिजो मध्यरातीसम्म भएको छलफलमा अधिकांश बिषयहरु समाधान भएकाले आज अपरान्ह बस्ने संविधानसभाको बैठकमा मस्यौदा प्रस्तुत हुने कंग्रेस नेता रमेश लेखकले जानकारी दिनुभयो ।
एकिकृत माओवादीले मस्यौदामा उल्लेख भएका शव्दहरु नबुझेकाले विवाद बढेको उहाँको आरोप छ । दलहरुबीच छलफल जारी रहेकाले २ बजे अगावै सहमतिमा पुगिने लेखकको भनाइ छ । संसदीय व्यवस्थालाई कृष्ण प्रसाद सिटौलाले संविधानको प्रस्तावनामा राखेर अपरिवर्तनीय बनाउन खोजेको र पहिले बनेको मस्यौदामा थपघट गरिएको एमाओवादी प्रमुख सचेतक गिरिराजमणी पोख्रेलको भनाई छ ।