गिट्टी बिक्री नहुँदा बाढीपीडित भोकै
ललितबहादुर बुढा
गिरीघाट (सुर्खेत),१४ असार: लगातार तीन दिनसम्मको वर्षातपछि मौसम केही रापिलो बनेको छ । पानी पर्न छोडेपछिको चर्को घाम । यस्तो गर्मीमा पसिनाले निथ्रुक्क भिजेका एक वृद्ध छाताको छहारीमा गिट्टी कुटिरहेका छन् । वस्तिमा कोही नयाँ मान्छे प्रवेश गर्ने वित्तिकै उनका आँखा त्यतैतिर जान्छन् । उनलाई लाग्छ, ‘गिट्टी खरिदका लागि नै ग्राहक आएको हो की ?’ तर, वस्ती छिरेको मानिस गिट्टीको लागि नआएको थाहा पाएपछि भने उनको अनुहारमा निराशाका धर्सा देखिन्छन् । घरी उनी बाटोतिर आँखा लगाउँछन् त घरी छेउमै रहेको गिट्टीको थुप्रो हेर्दै लामो सास फेर्छन ।
सुर्खेतको गिरीघाटस्थित बाढीपीडितको अस्थायी शिविरमा सोमवार दिउँसो देखिएको दृष्य हो यो । गएको वर्ष साउन अन्तिम साता भेरी नदीमा आएको बाढीका कारण विस्थापित बनेकाहरुलाई हिजोआज छाक टार्नै मुस्किल भएको छ । सरकारी तथा गैरसरकारी निकायले राहत उपलब्ध गराउन छोडेपछि खोलामा गिट्टी कुट्दै आएका यहाँका बाढीपीडितहरु पछिल्लो समयमा गिट्टी पनि बिक्री हुन छोडेपछि बिहान र बेलुकीको छाक कसरी टार्ने भन्ने चिन्तामा परेका छन् । शिविरमा बस्दै आएका हरिहरपुर–५ का ६५ वर्षीय बाढीपीडित सोमबहादुर सारु असिन पसिन भएर गिट्टी कुटिरहेका थिए । झण्डै दस दिन भयो, सोमबहादुरको गिट्टी बिक्री नभएको । गिट्टी बिक्री नभएपछि उनको भान्सामा चुल्लो समेत बल्न सकेको छैन ।
बाढीपीडितलाई राहत आउन छोडेको पनि लामो समय भएको छ । बाढीपीडितहरुले कात्तिक महिना भन्दापछि सरकारी निकायबाट राहतको नाममा केही पनि पाएका छैनन् । आम्दानीको लागि अन्य कुनै स्रोत नभएपछि छाक टार्नका लागि विस्थापितहरु नजिकै रहेको गिरीघाट खोलाबाट ढुंगा बोकेर ल्याउँछन् । दिनरात गिट्टी फुटाउने काममा व्यस्त हुने गरेका छन् । अहिले शिविरका अधिकांश विस्थापितहरुका हातभरी ठेला बसेका छन् । तर, आम्दानीको लागि यो भन्दा अर्को विकल्प नै छैन उनीहरुसँग ।
हातमा ठेला उठाएर, ज्यान थकाएर कुटेको गिट्टी पनि बिक्री नहुँदा विस्थापितलाई दुई छाक टार्न मुस्किल हुन थालेको छ । ‘दस÷बाह्र दिन भइसक्यो गिट्टी लिन कोही आएको छैन’ सोमबहादुरले भने, ‘अब त छाक कसरी टार्ने भन्ने समस्या पर्न थालिसक्यो ।’ सोमबहादुर मात्र होइन अहिले गिरीघाट शिविरमा बस्दै आएका दुई सय परिवार यही समस्याले पिरोलिएका छन् । गत साउन अन्तिम साता अविरल वर्षासँगै आएको बाढी र पहिरोले घरबार गुमाएर विस्थापित भई शिविरमा बस्दै आएका उनीहरू सबैको आम्दानीको स्रोत नै गिट्टी बनेको छ ।
सबैले गिट्टी कुटेरै गुजरा चलाइरहेका छन् । पछिल्ला दिनहरूमा गिट्टी बिक्री हुन छोडेपछि भोकभोकै बस्नुपर्ने अवस्था आएको उनीहरू बताउँछन् । विस्थापित रामबहादुर सुनार भन्छन्, ‘मेरो ८ जनाको परिवार छ, गिट्टी बिक्री हुँदैन कसैले राहत पनि दिदैनन् कसरी पाल्ने ?’ उनको जस्तै छ पीडा, सूर्यबहादुर विष्टको पनि । ६ जनाको परिवार पाल्न उनलाइ पनि सकस परेको छ । भन्छन्, ‘एक बोरा गिट्टी बेचेर ५० रूपैयाँ आउथ्यो, त्यही पनि बिक्री हुन छोड्यो अब कसरी छाक टार्ने ?’ गिरीघाट शिविर अगाडिको सडकको दाँयाबाया गिट्टी भरिएका बोराहरूले भरिएका छन् ।
प्रत्येक घरको अगाडि गिट्टीको थुप्रो छ । तर, वर्षायाम सुरु भएसँगै गिट्टीको बिक्रीमा कमी आएपछि यहाँका बाढीपीडितहरू भोकै बस्नुपर्ने अवस्था आएको हो । ‘तिहारभन्दा पछि कसैले राहत पनि दिएको छैन’ राबहादुरले भने, ‘पुर्नर्थापना गर्छौ भनेर सरकारले पनि हामीलाई धोका दियो ।’ एक वर्ष पुग्न लागिसक्दा पनि पुर्नर्थापना नगर्नु सरकारी विभेद भएको सूर्यबहादुरले बताए ।
यस्तै विस्थापीतहरु शिविरमा रहेका त्रिपालका कारण थप समस्यामा परेका छन् । विहीवार राती सुतिरहेका जयबहादुर विक मध्यरातमा पानीले शरिर भिजाएपछि ब्युझिए । झण्डै एक वर्ष पुराना त्रिपाल च्यातिएर आकाशबाट परेको पानी त्रिपालभित्रै परेपछि उनको परिवार रातभर निदाउँन पाएन । ‘त्रिपालबाट पानीको धारा लागेपछि तीन महिने छोरी र दुई वर्षे छोरा काखमा च्यापेर रातभर जाग्राम बस्नुपर्यो’ जय र उनकी श्रीमतीले भने । दिउँसोको चर्को घाममा त्रिपाल ताएिर भित्र बस्नै सकिँदैन । पुरानो भएर च्यातिएका त्रिपालले पानी समेत छेक्दैनन् ।