भीरबाट खसालेर डोजर चालकको हत्या
प्रेम नेपाली
पोखरा,१४ असार: बाटो खन्न गएको डोजर चालकको कास्कीको भरतपोखरीस्थित सिप्लेरीतरामा गुण्डाहरुको एक समुहले हत्या गरेका छन् । रुपन्देही मोतिपुर घर भएका २२ वर्षीय सुरज चौधरीलाई लेखनाथका गुण्डाहरुको एक समुहले कुटपीट गर्दै भीरबाट खसालेर हत्या गरेका प्रहरीले जनाएको छ ।
कास्कीका प्रहरी प्रमुख उपरीक्षक हरिबहादुर पालले हत्यामा यसअघि पनि हातहतियार मुद्दामा पक्राउ परी छुटेका दिपक मल्लसहितको समुह सहभागी रहेको बताए । ‘हत्यापछि फरार मल्लसहित तीन जनाको समुहको खोजि भइरहेको छ,’ पालले भने ‘चाडै पक्राउ पर्नेछन् ।’
भीरबाट खसालेर गम्भीर घाइते बनाइएका चौधरीलाई उपचारको लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो । डोजरले बाटो खन्दै गरेका चौधरीलाई ‘किन खनिस’ भन्दै गुण्डाहरुको समुहले आइतबार कुटपीट गरेर भीरबाट खसालेका प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ । लेखनाथ र आसपासमा सार्वजनिक निर्माण बाटो, भवन बनाउँदा, जग्गा प्लटिङ्ग गर्दा गुण्डाहरुले रकम माग गर्दै कुटपीट धम्काउने प्रवृत्ति बड्दो छ । बिभिन्न समुहमा रहेका गुण्डाहरुलाई निर्माण ब्यबसायी, व्यापारीहरुले प्रयोग गर्दै आएका प्रहरीले जनाएको छ ।