Live Streaming

​विराटनगरमा सहजकर्ताको आन्दोलन

विराटनगर, १४ असार । शिक्षक सरह सुविधा दिन माग गर्दै बाल विकास केन्द्रका सहजकर्ताले आजबाट आन्दोलन सुुरु गरेका छन् । मेची र कोसीका सहजकर्ताले सरकारलाई आफ्ना माग पुरा गर्न  दबाब दिने उद्देश्यले प्रदर्शनसमेत गरे । विराटनगरमा र्यालीसहितको जुलुस सहजकर्ताले माग पूरा नभए थप संर्घष गर्ने पनि चेतावनी दिएका छन् । 


बाल विकास शिक्षक संघर्ष समिति मेची कोसीसँग आवद्ध सहजकर्ताले निकालेको जुलुसले नगर परिक्रमा गरेको थियो । समितिका पदाधिकारीले जिल्ला शिक्षा कार्यालय मोरङमार्फत सरकारलाई ६ बुँदे माग प्रस्तुत गरेका छन् । आन्दोलनमा विद्यालय र समुदायमा आधारिक बाल विकास केन्द्र दुवैका सहजकर्ता सहभागी छन् ।


प्राथमिक शिक्षक सरह सुविधा दिन, भौतिक पूर्वाधार विकास गर्न, विद्यालयभित्रै कक्षा सञ्चालन गराउन, पर्याप्त मात्रामा शैक्षिक तथा खेलकुदका सामग्रीको व्यवस्था गर्न,तलब तथा सुविधालाई अन्तर्राष्ट्रिय तलब मापदण्डको आधारमा निर्धारण गर्न र बाल मनोविज्ञानको आधारमा बाल विकास केन्द्र सञ्चालन गर्न माग गरिएको छ । संघर्ष समितिकी सहसचिव पम्फा कुइँकेलले सरकारले माग पूरा नगरे थप शसक्त संघर्षका कार्यक्रम गरिने बताउनु भयो । सहजकर्ता लिला धमलाले आफूहरु श्रमशोषणमा परेको बताउनु भयो ।