नेताले संचालनमा ल्याएका सिटीसफारी गैह्रकानुनी
रत्नप्रसाद आचार्य
धरान,१४ असार । धरानमा विभिन्न राजनैतिक दलका नेताहरुले संचालनमा ल्याएका सिटी सफारी (विद्युतीय रिक्सा) यातायात व्यवस्था कार्यालयमा दर्ता नै नगरी संचालनमा ल्याइएको रहस्य खुलासा भएको छ । नेताले संचालनमा ल्याएका दर्ता विनाका सिटी सफारी चालक अनुमति पत्र नलिएका व्यक्तिले चलाउदा समेत सम्बन्धित निकायले कारवाही गर्न सकेको छैन् ।
धरानमा कांग्रेस, एमाले र एमाओवादीका स्थानिय नेताहरुले संचालनमा ल्याएका सिटी सफारीहरु विना दर्ता संचालनमा ल्याएपछी उनीहरुकै कार्यकर्ताले विरोध जनाएपछी धरानमा संचालनमा ल्याइएका सिटी सफारी गैह्र कानुनी रुपमा संचालनमा आएको खुलासा भएको हो । १५ दिन अगाडि धरानमा भित्रिएका सिटी सफारीहरु काग्रेस धरानका सभापति किशोर राई, एमाले सुनसरीका जिल्ला सदस्य मिनकुमार सुब्बा, एमाओवादीका स्थानीय नेता मनोज भट्टराईलगायतका दलका नेताहरुले सिटी सफारी संचालनमा ल्याए लगत्तै बिवादमा परेको छ ।
धरानमा सिटी सफारी संचालन गर्नु बाताबरणिय हिसावले अत्यन्तै राम्रो भएपनी ग्रैह कानुनी रुपमा सिटी सफारी संचालन गर्नेलाई कार्वाहि नभएको भन्दै धरानवासिले विरोध जनाएका हुन् । धरानका मजदुर नेता लक्ष्मी बानियाँले दर्ता विना सिटी सफारी संचालन गर्ने दलका नेताहरुलाई कार्वाहि गर्नु पर्ने माग गरे । उनले एउटा सर्बसाधारणले सवारी चालक अनुमति पत्रविना सवारी चलाउदा ट्राफिक प्रहरीले पक्रेर कार्वाही गर्ने तर धरानमा दर्ता बेगरका सिटी सफारी सवारी चालक अनुमति पत्र बेगर चलाउदा ट्राफिक प्रहरी रमिते बन्ने गरेको आरोप लगाए ।
धरानको जनसेवा यातायात संघका अध्यक्ष तथा टेम्पो चालक डिकेश श्रेष्ठले धरानमा संचालनमा ल्याएका अबैधानिक सिटी सफारीले चार सय टेम्पो चालकहरुको पेटमा लात हान्ने काम गरेको आरोप लगाए । उनले विभिन्न दलका नेताहरुले सिटी सफारी संचालनमा ल्याएका कारण ट्राफिक प्रहरी र यातायात व्यबस्था विभागले कार्वाहि गर्न नसकेको आरोप लगाए । सफारी संचालक मनोज भट्टरार्यले भने नारायणी अञ्चल यातायात व्यबस्था कार्यालयमा अस्थायी दर्ता नम्बर लिएर धरानमा सिटी सफारी संचालन गरिएको बताए ।
उनले धरान नगरपालीकाले कोसी अञ्चल यातायात कार्यालयमा नाम सारी गर्न सिफारिस दन ढिलाइ भएकाले प्रकृयामा ल्याएर सिटी सफारी संचालन गर्ने तयारी भैरहेको बताएका छन् । धरान उपमहानगरपालीकाका कार्यकारी अधिकृत टिकादत्त राईले धरानमा संचालनमा आएका सिटी सफारीहरु बिना दर्ता संचालनमा आएको बताए । उनले प्रकृया पुर्याएर आएका सफारीलाई दर्ताका लागि उपमहानगरपालीकाले सिफारसि गरिदिने भएपनी दर्ता बिना सफारी संचालन गर्नु गैह्र कानुनी रहेको बताए ।
कोसी अञ्चल यातायात व्यवस्था कार्यालय इटहरीका प्रमुख विष्णु पौडेलले धरानमा संचालन गरिएका सिटी सफारी अबैधानिक भएको जनगुणसो आएपछी ट्राफिक प्रहरी कार्यालयलाई कार्वाहि गर्न निर्देशन दिएको बताए । उनले धरानमा दर्ता विना संचालनमा आएका सबै सिटि सफारी गैह्र कानुनी रुपमा संचालन भएको पनि बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक प्रदिपकुमार सिंहले धरानमा अबैधानिक रुपमा संचालन भएका १० सिटी सफारीलाई कार्वाहि गरेको बताए । उनले सवारी चालक अनुमति पत्र र दर्ता बिना सफारी चलाउनेहरुलाई कानुन अनुसार कार्वाहि प्रकृया अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।