Live Streaming

पर्वतमा १७ प्रतिशत रोपाई

माया अधिकारी
पर्वत,१४ असार ।  मानो खाएर मुरी उब्जाउने महिना असार । यतिबेला पर्वतक किसानलाई रोपाईको चटारो परेको छ । मुल फुट्नेगरी वर्षा नपरेकाले यस वर्ष पर्वतमा रोपाई ढिलो भएको छ । आजसम्म जिल्लाका विभिन्न क्षेत्रमा गरी जम्मा १७ प्रतिशत मात्र रोपाई भएको छ । धान रोप्न योग्य खेतमध्ये २६ प्रतिशत खेतमा मकैखेती लगाइएको छ भने वाँकी खेत खाली भएपनि पर्याप्त सिंचाईको सुविधा नभएकाले रोपाई ढिलो भएको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ । 


मध्य असारसम्म १७ प्रतिशत रोपाई मात्र भएको जिल्ला कृषि विकास कार्यालय पर्वतका बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले जानकारी दिनुभयो।  सिंचाई भएका र खोला आसपासका क्षेत्रमा रोपाई धमाधम भएपनि अन्य क्षेत्रका कृषक भने वर्षा कुरेर बसेको रेग्मीले जानकारी दिनुभयो । उनका अनुसार अझै ८३ प्रतिशत खेतमा रोपाई हुन बाँकी रहेको छ । मनसुन शुरु भएपनि मुल फुट्नेगरी वर्षा भएको छैन त्यसैले सिंचाई नभएका ठाउँमा रोपाई गर्न समस्या छ रेग्मीले बताउनु भयो।

 

पर्वत जिल्लामा धान फल्ने ९ हजार २१ हेक्टर जमिन रहेको छ । त्यसमध्ये बाहै महिना सिंचाईको सुविधा पुगेको ६ हजार ८ सय हेक्टर जमिन रहेको छ । बाहैमास सिंचाइ हुने खेतमा रोपाईका लागि समस्या नभएपनि अन्य ठाउँका कृषक भने वर्षा प्रभावकारी भएपछि मात्र रोप्ने तयारीमा रहेका छन् । पर्वतमा ठुला सिंचाई योजनाहरु निर्माण भएकाले धेरै जमिनमा बाहै«मास सिंचाइ हुनसक्ने जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ । 

सबैभन्दा बढी  धान उत्पादन हुने देवीस्थानमा २ सय ४३ हेक्टर क्षेत्रफल र कम उत्पादन हुने बनौँमा ४ हेक्टर क्षेत्रफल रहेको छ । अहिले पर्वतमा छेमरोङ, खुमलटार, गौरीया, गुडुरा, मार्सी, पहेले, जर्नेलीलगायत जातका धान रोपिएको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ । गत वर्ष पनि मनसुन ढिला भएका कारण साउनको अत्यमा  मात्र रोपाई सकिएको थियो । तर पछि मनसुन सक्रिय भएकाले उत्पादनमा कुनै असर नपरेको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ । 

यसैबिच जिल्ला कृषि विकास कार्यालय पर्वतले धान दिवसको अवसरमा पर्वतको धाईरिङ्ग गाविस स्थित मिलनचोकमा रोपाई महोत्सव आयोजना गरेको छ ।