एकमाने अभियान संचालन गरी भूकम्प पीडितलाई सहयोग
जनार्दन घिमिर
गुल्मी, १४ असार: गत दुई महिनादेखि गाउँमा ‘एक माने’ अभियान संचालन गरेका युवानेता दामोदार भुसालले दुई महिनाको अवधिमा २८ बोरा चामल जम्मा गर्नु भएको छ । जिल्लाका भुकम्प पीडितहरुको लागि भनेर उनले गुल्मीको क्षेत्र नम्बर तीनमा प्रत्येक घरधुरीबाट एकएक मानाका दरले उक्त चामल संकलन गर्नुभएको हो । उहाँंले भुकम्पको मारमा परेका पूर्वी गुल्मीको क्षेत्र नम्बर एकमा पुगेर त्यहाँका भुकम्प पीडितहरुलाई उक्त चामल वितरण समेत गर्नुभएको छ।
भुकम्पको चोटमा परेका पूर्वी गुल्मेलीहरुको दुखाईलार्ई पश्चिमी गुल्मेलीहरुले पनि आत्मसाथ गर्नुपर्छ र उनीहरुको दर्दमा मलम लगाउँदैसँगै हातेमालो गर्नुपर्छ भन्ने उद्देश्यले आफूले जिल्लामा पहिलो पटक उक्त अभियान संचालन गरेको भुसालले बताउनुभयो । गाउँमा केही नयाँ काम गर्नुपर्छ भनेर यस अघिदेखि जिल्लामा करेसावारीको अभियान संचालन गरेका भुसालले यो पटक संचालन गरेको एकमाने अभियानले त्यस क्षेत्रका मानिसहरुलाई पनि सहयोग गर्ने सोंचको विकास गराएको छ ।
गाउँमा धेरै सहयोग गर्न सक्ने मानिसहरु कमै मात्रमा हुने गर्दछन् । उनको यो अभियानले गाउँमा मानिसहरुलाई आफुहरुले थोरै थोरै मुठीले जम्मा जम्मा गरेको अन्नले घैला भर्न सकिदो रहेछ भन्ने भावनाको विकास समेत गराएको भुसाललको तर्क रहेको छ । आफ्नो पार्टीको क्षेत्रीय वैठकमा उनले एकमाने अभियान संचालनको प्रस्ताव राखेपछि वैठद्वारा एक मतले पारित गरिएको उनको प्रस्तावले गाउँमा २८ बोरा अन्न संकलन गरायो । क्षेत्रीय समितिद्वारा संकलन गरिएको उक्त चामललाई भुसालले गुल्मीको अति दुर्गम गाविसहरु खड्गकोट, भुर्तुङ्ग र फोक्सीङ्गका अति विपन्न भुकम्प पीडितहरुलाई वितरण गर्नु भएको हो ।
‘आखिर जोजहाँ रहेपनि एक नेपालीलाई चोट लाग्दा अर्को नेपालीलाई दुख्नुपर्छ भन्ने सन्देश दिनका लागि हामीले यस्तो अभियान सञ्चालन गरेका हौ,’ क्षेत्रीय सभापति भुसालले भन्नुभयो –यो सन्देशलाई प्रत्येक राजनैतिक दल, संघ संस्था र समुहले अनुसरण गर्नसके विदेशी र सरकारको मात्र मुख ताकेर बस्नुपर्ने अवस्था रहँदैन ।’
संकलन गरिएको २८ बोरा चामल खड्गकोट, भुर्तुङ्ग र फोक्सीङ्ग गाविसमा रहेका स्थानीय राजनैतिक संयन्त्रको रोहवरमा पीडितहरुलाई वितरण गरिएको थियो । अर्खवाङ्ग, घमिर, मरभुङ्ग, छापाहिले, अर्जै, पौदी अमराई, नेटा र दोहोली लगायतका नौं गाविसमा संकलन गरिएको उक्त अभियानमा सबैभन्दा बढी पुर्कोटदह गाउँ कार्यसमितिले सहयोग पुराएको उहाँंले रेडियो अन्नपूर्णलाई बताउनुभयो ।