Live Streaming

मुस्ताङमा चार हजार पशुचौपाया मरे

गोपाल छन्त्याल

म्याग्दी, १४ असार ।  उपल्लो मुस्ताङको छ गाविसमा असोजदेखि फागुनसम्म पटक–पटक परेको हिमपातसंगै बढेको चिसोले ४ हजारभन्दा बढी पशुचौपाया मरेका छन् । छोसेर, कागबेनी, घमी, चराङ, छुसाङ र जोमसोम गाविसमा किसानले पालेका पशुचौपाया मरेपछि त्यस क्षेत्रका किसानलाई कम्तिमा ४६ करोड रुपैयाँ नोक्सानी भएको छ । जिल्ला पशु सेवा कार्यालय मुस्ताङले वैशाख र जेठ महिनामा गरेको तथ्यांङक संकलनबाट चिसोले अहिलेसम्मकै बढी पशुचौपाया मरेको र त्यसबाट किसानले ठूलो क्षति व्यहोर्नुपरेको देखाएको छ । कार्यालयका पशु चिकित्सक नन्दलाल वर्माले ती गाविसहरुमा ४ हजार ५९ वटा पशुचौपाया भोकभोकै कठङग्रिएर मर्नुपरेको जानकारी दिए । 


असोज अन्तिमसाता आएको हुडहुड आँंधी र त्यसपछि निरन्तर परेको हिउँं परेपछि त्यस क्षेत्रमा १५ दिनसम्म पाँच फिट हिउँ जमेको थियो । वर्माका अनुसार, सबैभन्दा बढी च्याङग्रा ३ हजार ८ सय, लुलुगाई १ सय ५६, याक ४८, झोपा १६, भेडा २१ र १८ वटा घोडा मरेका छन् । छ गाविस मध्ये छोसेर गाविसमा सबैभन्दा बढी १ हजार ३ सय ९९ पशुचौपाया मरेको तथ्यांकले देखाएको छ । किसानले एउटा च्याङग्रालाई न्यूनतम १० हजार, भेडालाई १५ हजार, घोडालाई १ लाख, झोपा ३० हजार र याकलाई ७५ हजार रुपैयाँमा बिक्री गर्छन् । पशु सेवा कार्यालयका अनुसार च्याङग्राबाट ३८ करोड, लुलुगाईबाट २ करोड ३ लाख १० हजार, याकबाट ३६ लाख, झोपाबाट ४ लाख ८० हजार, भेडाबाट १ लाख ९५ हजार र घोडाबाट १८ लाख रुपैयाँ गरि ४६ करोड रुपैयाँ भन्दा बढी क्षति भएको छ । 
‘प्राविधिकहरुले घरमै गएर यो तथ्यांक संकलन गरेका हो, अब यसरी परम्परागत तरिकाले पशुपालन गरेर हुदैन्, कार्यालय प्रमुख वर्माले भने । पकेट क्षेत्रमै भेडा र च्याङग्रा मरेपछि यसबर्ष दशै र तिहारमा यसको मूल्य आकाशिने भएको छ । दशैतिहारलाई लक्षित गरिएका च्याङग्राहरु मरेका कारण नेपाली व्यापारीहरु तिब्बतबाट बढी आयात गर्नुपर्ने बाध्यता सिर्जना हुने बताईएको छ । जिल्लाको उपल्लो क्षेत्रका गाविसलाई भेडा र च्याङग्रा पालनका लागि पकेट क्षेत्र मानिन्छ । अघिल्ला बर्षहरुमा हिमपात भएपनि केहि दिनमै पग्लिने भएपनि यो सिजनमा १५ दिनसम्म हिउँ जमेका कारण किसानहरुलाई बढी समस्या भएको प्राविधिकहरुले बताएका छन् । किसानहरुले कम्तिमा १० दिनलाई पुग्ने घाँस भण्डारण गरि राख्ने भएकाले त्यो भन्दा बढी समय हिउँ जम्दा बढी पशुचौपाया मरेको प्रमुख वर्माको दाबी छ । 


 कुन गाविसका कति पशुचौपाया मरे ?
१) छुसाङ गाविसः
        च्याङग्राः ६४०
        लुलुगाईः ११
        झोपाः ७
जम्माः ६५८ वटा । 
२) कागबेनी गाविसः
        च्याङग्राः ६३६
        घोडाः १
        झोपाः ६
        याकः ३४
जम्मा : ६७७ वटा ।
३) घमी गाविसः 
        भेडा : २
        च्याङग्राः ६८८
        घोडाः १५
        झोपाः २
        याकः ५
        लुलुगाईः ६९ 
जम्मा : ७८१ वटा ।
४) चराङ गाविस :
        च्याङग्राः ४६७
        घोडाः १
        झोपाः १
        याकः ९
        लुलुगाईः ३३ 
जम्मा : ५२० वटा । 
५) छोसेर गाविस : 
        च्याङग्राः १२९९
        भेडा : ९
        लुलुगाईः ४१
जम्मा: १३४९ वटा । 
६) जोमसोम गाविस : 
        च्याङग्राः ६१
        भेडा: १०
        लुलुगाई : २
        घोडा: १
    जम्मा : ७४ वटा । 
(स्रोत जिल्ला पशु सेवा कार्यालय मुस्ताङ )