Live Streaming

​सदस्य सचिव नियुक्तिको विषयमा एमाले भित्र विवाद चर्किदै

काठमाडौं,१४ असार । राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव नियुक्तिपछि सत्तारुढ नेकपा एमालेमा विवाद बढेको छ । अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँंदै नेता माधवकुमार नेपालले आफू निकटका सभासदहरुको भेला आयोजना गरी ओलीले गरेका मनपरी कामको सूची तयार पार्न निर्देशन दिनुभएको छ ।

राजधानीको थापाथलीस्थित एक क्याम्पसमा आयोजित भेलामा नेता नेपालले पार्टीमा संस्थागत निर्णयको प्रक्रिया नै सकिएको भन्दै अब सहेर नबस्ने बताउनुभयो । भेलामा करीव ५० जना सभासद सहभागी थिए ।

बैठकमा सहभागी सभासदहरुले युवा तथा खेलकुदमन्त्री पौडेललाई पार्टीले संस्थागत निर्णय नगरेसम्म कुनै हालतमा राजिनामा नदिन आग्रह गरेका छन् । संस्थागत निर्णय नगरी मन्त्री पदबाट हटाए कडा प्रतिवाद गर्ने नेपाल पक्षको भनाइपछि मन्त्री पौडेल भने राजीनामा नदिने मनस्थितिमा हुनुहुन्छ ।

मन्त्री पौडेलले पार्टीले संस्थागत निर्णय गरे आफू फिर्ता हुने बताउनुभएको छ । अध्यक्ष ओलीले पार्टीले सिफारिस नगरेका केशव विष्टलाई सदस्य सचिव नियुक्त गरिएको भन्दै युवा तथा खेलकुद् मन्त्री पुरुषोत्तम पौडेललाई मन्त्री पद छोड्न दबाब दिएपछि एमालेमा बिबाद बढेको हो । ओलीले पार्टी र आन्दोलनलाई नै ध्वंश गर्दै विघटनको दिशामा लगेको आरोप नेपाल पक्षको छ ।