Live Streaming

​एआईआईबी बैंक आजदेखि सञ्चालनमा

काठमाडौं,१४ असार । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) आजदेखि सञ्चालन हुने भएको छ । चीनले निकै चासोका साथ गतवर्ष अघि बढाएको एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) आजदेखि विधिवत् सञ्चालन हुने भएको हो । सञ्चालनको मुख्य विधानमा बेइजिङमा हस्ताक्षर भएपछि बैंकले औपचारिक सेवा थाल्नेछ । नेपालसहित एसियाका ३७ मुलुकका प्रतिनिधिले हस्ताक्षर गर्नेछन् ।

एसियाबाहेक अन्य महादेशका २० मुलुक पनि हस्ताक्षरमा सहभागी हुनेछन् । एआईआईबीको अस्तित्व एवं सञ्चालनको कानुनी आधार निर्धारण गर्ने मुख्य विधानमा हस्ताक्षर गर्न यसअघि प्रतिबद्धता जनाइएको भन्दा थप ६ मुलुकका प्रतिनिधि सहभागी हुँदै छन् । एक खर्ब अमेरिकी डलर चुक्ता पुँजीमा स्थापना गरिएको बैंकको मुख्य उद्देश्य विकास पूर्वाधारको अभावमा आर्थिक एवं सामाजिक उन्नति गर्न नसकेका देशलाई सघाउनु भएको जनाइएको छ ।