असन्तुष्ट मधेशी दल संविधान निर्माण प्रक्रियामा सहभागी हुने
काठमाडौं,१४ असार । प्रमुख चारदलबीच भएको सोह्रबुँदे सहमतिसँग असन्तुष्ट मधेस केन्द्रित दलहरू पनि संविधान निर्माण प्रक्रियामा सहभागी हुने भएका छन् । त्यसबारे औपचारीक धारणा बनाउन मधेशी मोर्चाको बैठक बस्दैछ । मध्यान्ह सिंहदरबारमा बस्ने बैठकले आजै बस्ने संविधानसभा बैठकका लागि रणनीति बनाउने सद्धभावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
आठ दलीय मधेसी मोर्चाबाट विजय कुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक बाहिरिएपछि बाँकी ७ दल बैठकमा सहभागी हुने उहाँको भनाइ छ । संविधानसभाका समिति बैठकहरू बहिष्कार गर्दै आएका मधेश केन्द्रित दलहरुले संविधानसभामा भने असहमति राख्दै सभागि हुने संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो । मस्यौदा समितिको गत शनिबारको बैठकमा मधेस केन्द्रित असन्तुष्ट दलहरूले फरक धारणासहित भाग लिएका थिए ।
प्रदेशसभाको अधिकार केन्द्रबाट नियन्त्रित हुने गरी मस्यौदामा प्रस्ताव ल्याइएको, अन्तराष्ट्रिय सम्बन्ध निर्माणमा प्रदेशसभाले भूमिका पाउनुपर्ने लगायत फरक मत रहेको यादवले बताउनुभयो ।