विवादित अन्तरवस्तुहरु थाती राखेर मस्यौदा बुझाउने चार दलको निर्णय
काठमाडौं,१३ असार । चार राजनीतिक दलहरुले संविधानका विवादित अन्तरवस्तुहरु थाती राखेर संविधानको मस्यौदा संविधानसभामा बुझाउने निर्णय गरेका छन् । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार पक्षीय बैठकमा विवादित विषयमा सहमति जुटाउन नसकेपछि दलहरुले यो निर्णय गरेका हुन् ।
बैठकबाट बाहिरिँदै नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले विवादित प्राय सबै विषयमा सहमती भइसकेको र केहीमा अझै सहमती हुन बाँंकी रहेको बताउनुभयो। कंग्रेस नेता रमेश लेखकले पनि संविधानको मस्यौदा आजै सभामुखलाई बुझाउने बताउनुभयो । दलहरुबीच प्रस्तावनामा बहुलवाद राख्ने नराख्ने, सर्वोच्च अदालत र संवैधानिक निकायमा पुनर्नियुक्ति, निर्वाचन थ्रेसहोल्डलगायत विषयमा दलहरुबीच सहमति हुन सकेको छैन ।
पुनर्नियुक्तिका विषयमा कंग्रेस र एमाले नै विभाजित भएपछि सहमति हुन सकेको छैन । संविधान मस्यौदा समितिको बैठक नै स्थगित गरेर हिजो साँझ बसेको कंग्रेस, एमाले, एकीकृत माओवादी र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको बैठक निश्कर्षबिहीन भएको थियो ।