Live Streaming

शौचालयबिहीन अवस्थामा पनि खुला दिसामुक्त घोषणाको तयारी

ललितबहादुर बुढा

सुर्खेत  सुर्खेतमा अहिले पनि एक हजार भन्दा बढी घरहरु शौचालयबिहीन अवस्थामा रहेका छन् । तर, जिल्लालाई हतारमा यही असार २६ गते खुला दिसामुक्त जिल्ला घोषणा गर्ने तयारी गरिएको छ । जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति (डीवाससीसी) सुर्खेतले यस्तो निर्णय गरेको हो । 

 जिल्लालाई नै खुला दिसामुक्त घोषणा गर्ने निर्णय गरिएको भएपनि अझै एउटा गाविस लेखपराजुल खुला दिसामुक्त घोषणा हुन बाँकी छ । यस्तै यसअघी घोषणा गरिएका जिल्लाका विभिन्न गाविसमा अहिलेपनि एक हजार भन्दा बढी घर शौचालयविहीन छन् । केहीदिन पहिला मात्र डीवाससीसीले जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा शौचालयको अवस्था बुझ्नका लागि अनुगमन टोली खटाएको थियो । ति अनुगमन टोलीले बुझाएको प्रतिवेदनका आधारमा अहिलेपनि जिल्लाका एकहजार भन्दा बढी घरहरु शौचालयविहीन छन् । ठूलो संख्यामा शौचालय निर्माण हुन बाँकी नै रहेको अवस्थामा हतारमा जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने निर्णय गरिएको छ ।
 

   डीवाससीसीको बैठकले यसअघी नै घोषणा गरिएका तर, हाल आएर शौचालय नभएका गाविसमा यही असार १५ गतेभित्रमा शौचालय निर्माण गरिसक्ने गरी काम गर्ने निर्णय गरेको छ । राष्ट्रिय स्तरको टोलीबाट अनुगमन सम्पन्न भएपछि मात्र असार २६ गते जिल्लालाई खुला दिसामुक्त घोषणा गरिने छ । डीवाससीसीले जिल्ला घोषणा गर्ने निर्णय गरेको भएपनि यो हतारमा भएको सरोकारवालाहरुले बताउनु भएको छ । जिल्ला घोषणाका लागि अब १३ दिन मात्र सयम बाँकी छ । यो अवधीमा जिल्लाभर करिब १२ सय शौचालय निर्माण गर्नुपर्ने हुन्छ । अर्कोतर्फ रोपाईंको चटारो हुने यो महिनामा किसानहरुले खेतीको काम छोडेर शौचालय निर्माणमा जुट्ने सम्भावना पनि न्यून रहेको छ । जिल्ला घोषणाको निर्णय हतारमा भएको भन्दै सरोकारवालाहरुले अब बाँकी रहेको समयमा सबै घरमा शौचालय निर्माण गर्न कठिन हुने बताउनुभयो ।

जिल्ला घोषणा गर्नका लागि धेरै चुनौतीहरु भएपनि तोकिएको मितिमा नै जिल्लालाई खुला दिसामुक्त घोषणा गरेरै छाड्ने क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयका सिनियर डिभिजनल इन्जिनियर आविद हुसैनले बताउनुभयो।  डीवाससीसीका सदस्यसचिव समेत रहेका हुसैनले सबै तयारी पूरा भएकाले जिल्ला घोषणा गर्न कुनै समस्या नभएको दाबी गरे । उनले भने, ‘यो साझा अभियान हो, सबैले सहयोग गर्नुपर्छ ।

बाँकी रहेका घरमा पनि शौचालय निर्माणका लागि हामीले सहयोग प्रदान गर्ने निर्णय गरेका छौं, असार १५ गतेभित्रमा जिल्लाका सबै घरमा शौचालय बन्नेछन् ।’ अबपनि घोषणा गर्न ढीलाई गरिए अभियान नै प्रभावित हुने भन्दै उहाँंले तोकिएकै मितिमा सुर्खेत जिल्लालाई कुनैपनि हालतमा खुला दिसामुक्त घोषणा गरिने बताए । आफूहरुले हतारमा नभई उपयुक्त समयमा जिल्ला घोषणाको निणर्य गरेको भन्दै उहाँंले घोषणापछि थप योजना बनाएर अगाडि बढ्ने जानकारी दिए ।

खानेपानी तथा सरफाई उपभोक्ता महासंघका केन्द्रिय उपाध्यक्ष कुलमणि देवकोटाले अहिले देखा परेका केही समयाहरुलाई सुधार गर्दै गएमा तोकिएको मितिमा नै सुर्खेत जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न सम्भव हुने बताउनुभयो । । उहाँंले भन्नुभयो,‘अहिले पनि गाविस स्तरमा केही समस्या छन्, पहिला घोषणा भएका स्थानमा शौचालय भत्किएका छन् । तिनलाई तत्काल सुधार गर्न आवश्यक छ, तोकिएकै मितिमा घोषणा गर्नका लागि अब युद्धस्तरमा काम गर्न जरुरी छ ।’ घोषणाका लागि घोषणा गर्ने भन्दापनि कुनै कमजोरी तथा दोष नदेखिने गरेर काम गरेमा त्यो सबैका लागि हितकर हुने उनको भनाई छ ।

यस्तै सुन्दर नेपालका कार्यक्रम संयोजक गणेश वलीले जिल्ला घोषणा गरेपछिको अवस्थामा कसरी अगाडि बढ्ने भन्ने बारेमा सबै गम्भिर हुनुपर्ने बताए । उनले भने,‘जिल्ला घोषणा हुँदैछ, तर त्यसपछि के गर्ने भन्ने हामीसँग कुनै योजना नै छैन । अब यो विषयमा पनि सोच्न आवश्यक छ, सबैको सामुहिक प्रयासले सुर्खेतलाई तोकिएकै दिनमा खुला दिसामुक्त घोषणा गर्न सकिन्छ ।’