कोसी अञ्चल अस्पतालमा तालाबन्दी
किशोर बुढाथोकी
विराटनगर, ११ असार । राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रले विराटनगरस्थित कोशी अञ्चल अस्पतालको ओपीडी विभागमा आज बिहान तालबन्दी गरेको छ । कोशी अञ्चल अस्पतालस्थित मिलन केन्द्रका कर्मचारीहरुले विभिन्न ५ बुँदे माग राख्दै आज बिहान ८ बजेदेखि ११ बजेसम्म ओपीडी विभागमा तालाबन्दी गर्दा सेवा प्रभावित बन्यो ।
करार प्रक्रियामा काम गरिरहेका र्मचारीलाई स्थायी गरिनुपर्ने, अस्पताल विकास समितिले कर्मचारीहरुको स्तरवृद्धि गर्नुपर्ने, कर्मचारीलाई उपदान दिनुपर्नेलगायतका माग राखि तालाबन्दी गरिएको राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रका अध्यक्ष श्रवण केवटले जानकारी दिनुभयो ।
ओपीडी सेवा बन्द भएपछि मोरङसहित विभिन्न जिल्लाबाट उपचारका लागि आएका बिरामीहरु मर्कामा परेका थिए । उनीहरु विना सूचना तालाबन्दी गरिएकामा आक्रोशित समेत बनेका थिए । सिन्धुलीबाट श्रीमतीको उपचार गराउन आउनु भएका पुष्कर खड्काले कर्मचारीहरुले बिरामीहरुको उपचार पाउने अधिकारलाई बिना सूचना कुण्ठित गर्न खोजेकोे बताउनु भयो ।
आफूहरुको माग पुरा नभए आगामी १३ गते समेत इमर्जेन्सी बाहेक सम्पूर्ण सेवा अवरुद्ध गराउने चेतावनी कर्मचारी मिलन केन्द्रले दिएको छ । कोशी अञ्चल अस्पतालको ओपीडीमा दैनिक सात सय बढी बिरामी स्वास्थ्य परीक्षण र उपचारका लागि आउने गरेका छन् ।