सशस्त्रलाई पक्राउ पूर्जी जारी गर्न नदिन संसदीय समितिको निर्देश
काठमाडौं,११ असार । संसदको राज्य व्यवस्था समितिले सशस्त्र प्रहरीलाई समेत पक्राउ पुर्जि जारी गर्न दिने सरकारको तयारी तत्काल अगाडि नबढाउन निर्देशन दिएको छ । नेपाल प्रहरी र ससस्त्र प्रहरी बीच पक्राउ पुर्जि सम्बन्धमा विवाद चुलिएपछि आज बसेको समिति बैठकले तत्काल प्रक्रिया अगाडि नबढाउन भनेकोे हो । ससस्त्र पहरीलाई समेत पक्राउ पूर्जी दिने प्रावधानसहित नियमावली संसोधन गर्ने प्रस्ताव सम्बन्धित मन्त्रीले मन्त्रीपरिषद्मा लगे पनि नेपाल प्रहरीले विरोध गरेपछि अघि बढ्न सकेको छैन ।
सो विधेयक मन्त्रीपरिषद्को विधेयक समितिमा बिचाराधिन छ सशस्त्रलाई पक्राउ पुर्जि दिदाँ क्षेत्राधिकार मिचिने भन्दै नेपाल प्रहरीले बिरोध गरेपछि दुई विभागबीचको विवाद चुलिएको हो । भन्सार, सीमा लगायत क्षेत्रबाट अपराधमा संलग्नलाई सशस्त्रले पक्राउ गरेपनि सम्बन्धित निकायमा बुझाई पूर्र्जीमा लिने गरेको छ । बिनापुर्जी व्यक्ति पक्राउ गर्न नमिल्ने भन्दै मानवअधिकारकर्मीहरुले समेत सशस्त्र प्रहरीलाई समेत सो प्रावधान उपलब्ध गराउन आग्रह गरेका थिए ।
सिंहदरवारमा बिहान करिब ३ घण्टा बसेको बैठकमा अधिकांश सभासद्हरुले पर्याप्त छलफल पछि मात्र प्रक्रिया अगाडि बढाउन सरकारलाई सुझाएका थिए । उनीहरुले सामान्य विवादका कारण दुई संगठनबीच टकराव उत्पन्न हुन नहुने बताएका थिए । बैठकमा बोल्दै गृहमन्त्री बामदेव गौतमले सशस्त्रलाई पक्राउ गर्ने अधिकार भएपनि पूर्जि नै दिन भने तत्काल नसकिने बताउनुभएको थियो । सशस्त्रको नियमावली संसोधन प्रक्रिया तत्काललाई थाँती राख्ने उहाँले उल्लेख गर्नूभयो ।
बैठकमा नेपाल प्रहरीका प्रमुख उपेन्द्रकान्त अर्याल र ससस्त्र प्रहरी प्रमुख कोषराज वन्तको समेत उपस्थिति थियो । यसैबीच समितिको आजको बैठकले पश्चिम तराई लगायत अधिकांश क्षेत्रमा बाढीपहिरोको खतरा तिब्र बनेको भन्दै ५ दिनभित्र ठोस कार्यक्रम ल्याउन गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।