दुईसय ८८ घरपरिवार पहिरोको जोखिममा
देवचन्द्र भट्ट
काहुले, नुवाकोट, ११ असार : महाभुकम्पले नुवाकोटको पश्चिमी भेगमा रहेको १० गाविसका १८ स्थान असुरक्षित रहेको प्राविधिकको स्थलगत अध्ययनले देखाएको छ । भुकम्पले चिरा परेको र पहिरो जान थालेका कारण जोखिम बढ्दै गएको प्राविधिकहरु बताउनुभयो । क्षेत्र नं. ३ मा दुई वटा टोली बनाएर भुगर्गविद, इन्जिनियरसहितको टोलीले १८ स्थान असुरक्षित रहेकोले सो स्थानका भुकम्प पीडितहरुलाई तत्काल स्थानान्तरण गर्न जिल्ला दैवी प्रकोप उद्धार समितिमा सिफारिस गरेको हो ।
काहुले गाविस वडा नं. ८ को वोगङका सात घरधुरी विस्थापित भई त्रिशूली आएर अस्थायी बसोबास गरिरहेका छन् । गत वैशाख १२ गतेको विनाकारी भुकम्पका कारण नुवाकोटको क्षेत्र नं. ३ का दुई सय ८८ घरपरिवार पहिरोको उच्च जोखिममा रहेको प्राविधिकहरुले बताउनु भएको छ । प्राविधिकसहितको टोलीले क्षेत्र नं. ३ का विभिन्न १० गाविसका दुई सय ८८ घरपरिवारलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न कार्यदलले प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिलाई सिफारिस गरेको छ ।
जिल्ला भू संरक्षण कार्यालय नुवाकोटका प्रमुख श्यामसुन्दर श्रेष्ठ तथा जल उत्पन्न प्रकोप शव डिभिजन कार्यालय नुवाकोटका प्रमुख हरि गुरागाई संयोजक रहेको पाँच÷पाँच सदस्यीय दुई स्थलगत अनुमगन टोलीले दुई सातासम्म गाउँंंमा अनुगमन गरेको थियो । सो टोलीले विदुरमा बुझाएको प्रतिवेदनमा फिकुरी गाविस वडा नं. ७ र ९ का ९७ पहिरोको उच्च जोखिममा रहेका छन् ।
गाउँको माथिल्लो भागमा रहेको ढुंगा खसेर सो भेगका ३७ घरसहित टेलिकमको रिपिटर टावर, सिंचाई कुलो र खेतीयोग्य जमीनमा क्षति पु¥याउन सक्ने उल्लेख गरिएको छ । यस्तै दाङसिंह गाविसमा दुई घर, देउराली गाविस वडा नं. १ मा १४ घर, सोही ठाउँको पोलोचेमा १४ घर, आर्ताको १३ घर, सोही ठाउँको वडा नं. लामडाडाँ ७ घर, देउरालीकै वडा नं. ९ का १५ घर, किम्ताङको नाङगाङ निरन्तरको पहिरोमा २२ घर जोखिममा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
‘जोखिमयुक्त वस्ती र घर तत्काल सार्नका लागि हामीले दैवी प्रकोप उद्दार समितिमा प्रतिवेदन बुझाएका छौँ– टोलीको नेतृत्व गरेका जल उत्पन्न कार्यालयका प्र्रमुख हरि गुरागाइका अनुसार वर्षात् लागिसकेकाले उच्च जोखिममा रहेकाहरुलाई तत्काल सार्नुपर्ने देखिन्छ ।’उहाँंले कतिपय स्थानमा ढुंगा फुटाएर पनि बस्ती जोगाउन सकिने बताउँदै अधिकांश बस्ती स्थानान्तरण नगरे ठूलो क्षति हुन सक्नेछ । दुवै टोलीले बुझाएको प्रतिवेदनमा किम्ताङ वडा नं. ८ कै चुङ्गाङटोलको २५ घर, मनकामना गाविस वडा नं. ८ को अर्चलेमा १४ घर, भाल्चे गाविसको भाल्चेवेसीका १२ घर, काहुले गाविस ढोङचेतका २ घर, काहुलेकै मानेर्गेर्सामा दुई विद्यालय र ९ वटा घर र थप सात घर पहिरोको जोखिममा रहेका छन् ।
क्षेत्र नं. ३ का सभासद बहादुरसिंह लामाको पहलमा सो क्षेत्रमा विज्ञसहितको टोलीले स्थलगत निरीक्षण गरी प्रतिवेदन तयार पारेको बताउनुभयो । प्रतिवेदनका सम्वन्धमा दैवी प्रकोप उद्धार समितिले विज्ञसंग परामर्श तथा छलफल गर्ने जनाएको छ । यद्यपि, नुवाकोटकै क्षेत्र नं. १ र २ नं. निर्वाचन क्षेत्रमा भने विज्ञहरुको टोली परिचालन हुन सकेको छैन । क्षेत्र नं. १ र २ मा पनि विभिन्न स्थानका वस्ती जोखिममा परेको भन्दै समितिमा निवेदन आइरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले वताए ।
जिल्ला दैवी प्रकोप उद्दार समितिले वाँकी दुई क्षेत्रमा पनि स्थलगत निरीक्षणका लागि टोली बनाएर खटाउने तयारी गरेको प्रजिअ ढकालले बताए । नुवाकोटका तीन निर्वाचन क्षेत्रका ३० भन्दा वढि स्थान पहिरोको जोखिममा परेको र सार्नु पर्ने माग आएको उनको भनाई छ ।