राष्ट्रिय आँंप महोत्सव सुरु
काठमाडौं,११ असार । पहिलो राष्ट्रिय आँंप महोत्सव आज राजधानीमा सुरु हुँदैछ । नेपाल फलफूल थोक व्यवसायी संघ कुलेश्वर तथा फलफूल विकास निर्देशनालय कीर्तिपुरको संयुक्त सहकार्यमा आजदेखि दुई दिनसम्मका लागि भृकुटी मण्डपमा आँप महोत्सव सुरु गर्न लागिएको हो । संघका अध्यक्ष अमर बानियाँका अनुसार महोत्सवमा ११ वटा स्टल रहनेछन् ।
महोत्सवमा नेपालमा पाइने १८ जातका आँप र आँंपबाट निर्माण हुने अन्य परिकारको बारेमा अवलोकनकर्तालाई जानकारी दिइनेछ । नेपालमा ४६ हजार चार सय ६९ हेक्टरमा आँप खेती हुन्छ । बजारमा अहिले वार्षिक २७ लाख ७८ हजार चार सय ७८ मेट्रिक टन आँपको खपत भइरहेको छ । नेपालबाट १२ लाख २३ हजार सात सय ६८ किलो आँप भारत लगायतमा मुलुकमा निर्यात समेत भइरहेको छ ।