अदालतका विकृतिहरु नरोके भयावह स्थिति आउन सक्छ : ज्ञवाली
काठमाडौं,११ असार । एमाले सचिव प्रदीप ज्ञवालीले अदालतका विकृतिहरु नरोके भयावह स्थिति आउन सक्ने बताउनुभएको छ । दलहरुले गरेको निर्णयमा एकपछि अर्को अंकुश लगाउनु थालेको भन्दै उहाँले सर्वोच्चले राजसंस्था फर्काउने गरी फैसला गर्न सक्ने बताउनुभयो । पोखरामा आज बिहान सञ्चारकर्मीसँग सचिव ज्ञवालीले अदालतले बेलाबेला कार्यक्षेत्र बाहिर गएर फैसला गर्ने गरेको आरोप लगाउँदै त्यसलाई रोक्नुपर्नेमा जोड दिनुभयो ।
दलहरुको १६ बुँदे सहमति बारे सर्वोच्च अदालतले हालै गरेको फैसला आपत्तिजनक र विवादास्पद भएको बताउँदै उहाँले त्यसका विरुद्व पुनरावेदन गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो– कस्तो संविधान बनाउने भन्ने कुरा संविधानसभाको हो, अदातलको होइन, संविधान सभा सार्वभौम भएकाले कसैले बार बन्देज लगाउने होइन ।’संविधान निर्माणको निर्णायक मोडमा बाधा पु¥याउनेलाई जनताले कदापी क्षमा नदिने उहाँको चेतावनी थियो ।