Live Streaming

​जबरजस्ती कुहिएको चामल वितरण गरेको अनुगमन टोलीको ठहर

काठमाडौं,१० असार । संसदीय विशेष समितिले विश्व खाद्य कार्यक्रमले भूकम्प प्रभावित क्षेत्रमा जबरजस्ती कुहिएको गुणस्तरहीन खाद्यन्न बाँडेको निष्कर्ष निकालेको छ । संसदको राष्ट्रिय विपद व्यव्स्थापन अनुगमन तथा निर्देशन विशेष समितिको टोलीले अनुगमन गरी जबरजस्ती कुहिएको चामल वितरण गरेको प्रतिवेदन तयार पारेको हो ।

समितिले तयार पारेको प्रतिवेदनमा चामल गोरखामा पुग्नुभन्दा धेरै समय पहिले नै बिग्रिएको उल्लेख छ । दलका प्रतिनिधि र कृषिको संयुक्त टोलीले कुहिको चामल बितरण नगर्न सुझाव दिए पनि विश्व खाद्य कार्यक्रमका प्रतिनिधिले गोरखामा यत्तिको चामल भए हुन्छ भन्दै चामल वितरण गरिएको अनुगमन टोलीले जनाएको छ ।

विश्व खाद्य कार्यक्रमअन्तर्गत ल्याइएको खाद्यन्न नेपालमा भण्डारण हुनु अघि र  वितरण गर्ने स्थानमा समेत परीक्षण नगर्ने गरिएको प्रतिवेदनमा उल्लेख छ ।  विश्व खाद्य कार्यक्रम अन्तर्गत आउने खाद्य पदार्थलाई अनुगमन गर्ने सरकारी निकायको उपस्थिति  नरहेको र जिल्लामा समेत सरकारी संयन्त्र प्रभावकारी नभएका कारण जनताको स्वास्थ्यमाथि सम्बन्धित पक्ष मुकदर्शक भएर बसेको प्रतिवेदनमा जनाईएको छ ।

सभासद भानुभक्त ढकालको संयोजकत्वमा गोरखा गएको टोलीले प्रतिवेदन तयार पारेको हो । प्रतिवेदन आज संविधानसभा अध्यक्ष एवं विशेष समिति सभापति सुवास नेम्वाङलाई बुझाएको छ । त्यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि विश्व खाद्य कार्यक्रमले कुहिएको चामल वितरण गरेको जनाई सकेको छ । यद्यपी  विभागले विश्व खाद्य कार्यक्रम संयुक्त राष्ट्रसंघको मातहत भएकाले कारवाही गर्न नसकिने स्पस्ट पारिसकेको छ । विश्व खाद्य कार्यक्रमले भने कुहिएको चामल फिर्ता लगेर नयाँं चामल पठाउने जनाएको छ