मानवअधिकार रक्षकलाई तालिम
संखुवासभा,१० असार । पूर्वाञ्चल भरका मानवअधिकार रक्षकहरुका लागि तीन दिने तालिम धनकुटाको भेडेटारमा आजबाट सुरु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले आयोजना गरेको तालिममा पूर्वका १३ वटा जिल्लाका ३० जना मानवअधिकार रक्षकहरुको सहभागिता रहेको छ । मौसमका कारण भोजपुर,खोटाङ र सोलुखुम्बुका मानवअधिकार रक्षक यस कार्याक्रममा सहभागी हुन सकेन । मानवअधिकार रक्षकहरुको भूमिका,चुनौती र चुनौती सामनाका प्रयासहरुका बारेमा तालिममा प्रशिक्षण गरिएको छ ।
अगुवा मानवअधिकार रक्षक इन्सेकका अध्यक्ष सुवोदराज प्याकुरेल,मानवअधिकार आयोग बिराटनगरका निर्देशक कोशराज न्यौपाने, इन्सेकका क्षेत्रीय संयोजक सोमराज थापालगायतले तालिममा प्रशिक्षण दिनु हुने छ । तालिममा ९ जना महिलासहित पूर्वाञ्चल मानवअधिकार रक्षक परिषदका पदाधिकारी र अन्य सहभागी रहेका छन् । तालिम असार १२ गते सम्म चल्ने छ ।