Live Streaming

त्रिपालमै थन्किए बाढीपीडित

ललितबहादुर बुढा
सुर्खेत: मनसुन सुरु भएसँगै आकासबाट पानी पर्न थालेपछि सुर्खेत हरिहरपुरकी गंगा बुढा बेलाबेलामा तर्सिने र एकहोरो भएर टोलाउने गर्न थालेकी छन् । आकासबाट पानी पर्न सुरु भएपछि उनलाई यतिबेला एकवर्ष अघिको त्यही कहालीलाग्दो घटनाले दिनरात झस्काउन थालेको छ । गएको वर्ष साउनमा गाउँ नै बगर बनाउने गरी भेरी नदीमा आएको उर्लदो बाढीमा  बल्लतल्ल ज्यान जोगाएकी उनलाई यसपाली पनि आकाशबाट पानी पर्न थालेपछि अघिल्लो वर्षको जस्तै घटना पुनः दोहोरिने हो कि भन्ने चिन्ताले सताउन थालेको छ ।


 विगत १० महिनादेखि गिरीघाटस्थित अस्थायी शिविरमा बस्दै आएकी गंगाको परिवारलाई यसपालीको वर्षातमा ज्यान जोगाउनै मुस्किल हुने अवस्था आएको छ । घना जंगलको बिचमा रहेको अस्थायी शिविरमै तीन महिना अघिमात्र सुत्केरी भएकी गंगा र उनको परिवारले रात काट्ने गरेको त्रिपाल पुरानो भएपछि च्यातिएको छ । हिजोआज आकासबाट पर्न सुरु गरेको पानी सिधै उनीहरुको सुत्ने ओछ्यानमा पुग्छ । रातको समयमा लामखुट्टले सताउने र पानीले ओछ्यान भिज्ने भएकाले उनको परिवार रातभर जाग्राम बस्नुपर्ने बाध्यता आईलागेको छ ।

अर्कोतर्फ सरकारी तथा गैरसरकारी निकायले राहत दिन छोडेपछि यतिवेला उनको परिवारलाई हातमुख जोड्न र पानीबाट ज्यान जोगाउनै मुश्किल हुन थालेको छ । गंगाको परिवारलाई मात्र होइन, सरकारले समयमा नै पुनसर््थापनाको काम सुरु नगर्दा जिल्लाका करिब एक हजार विस्थापित परिवारले यसपटकको वर्षातमा आकासबाट पर्ने पानीमा भिजेरै दिनरात कटाउनुपर्ने बाध्यता सिर्जना भएको हो ।
यस्तै वीरेन्द्रनगरमा रहेको विस्थापित शिविरमा बस्दै आएका रतन विकको परिवार पनि आकासबाट पानी पर्न थालेपछि निकै संकटमा परेको छ । गतवर्षको बाढीले घरजग्गा बगाई दिएपछि उनको परिवारलाई शिविरमा बस्नुको अर्को विकल्प नै छैन । तर, शिविरमा बस्न पनि त्यती सहज भने छैन उनको परिवारलाई । सरकारले दिएको त्रिपाल च्यातिएका कारण आकासको पानी छेकिदैन । अन्यत्र ओत लाग्न पनि आफ्नो घर छैन । वर्षाको मौसम सुरु भएसँगै लामखुट्टे र सर्पबाट जोगिन उनीहरुलाई हम्मेहम्मे नै भएको छ ।

गंगाले भनिन्, ‘त्रिपालमा रात काट्नु परेको छ, आकासको पानी सिधै ओछ्यानमा आउँछ । विहान बेलुकी खानलाई पनि समस्या छ, यो वर्षामा कसरी ज्यान जोगाउने हो खै ? साटाखानीमा रहेको  शिविरमा बस्दै आएकी ५९ वर्षिया धनकला विर्कटाले आफ्नो पीडा सहन नसकेर आँखाबाट आँशु झार्दै भनिन्, ‘शरिर कमजोर भयो, काम गर्न सक्ने अवस्था छैन । आफैले पक्की घर बनाउन सक्ने अवस्था छैन, सरकारले वेवास्ता गर्दा यसपालीको वर्षातमा त्रिपालमुनी पानीमा भिजेरै वित्ने भयो ।’ बाढीका कारण विस्थापित भएर अस्थायी शिविरमा बस्न थालेदेखि नै यहाँका विस्थापितहरुले विभिन्न समस्याहरु झेल्नु परेको छ । गिरीघाट शिविरकी सन्तकला नेपालीले किनेर खानुपर्ने समस्याका कारण ऋण बढ्दै गएको भन्दै अब धेरै दिन यही हालतमा शिविरमा बाँच्न नसक्ने बताइन् । 
सरकारले राहत दिन छोडेको र पुनसर््थापनाको काममा ढीलाई गर्दा अहिले शिविरमा बस्दै आएका सुत्केरी, गर्भवती, बालबालिका र बृद्धबृद्धाहरु समेत गिट्टी कुटेर छाक टार्न बाध्य छन् । लामो समयसम्म पनि पुनस्र्थापना नहुँदा शिविरका अधिकांश पुरुषहरु रोजगारीका लागि मुग्लान पसेपछि त्रिपालमा रहेका परिवारका अन्य सदस्य र बालबालिकाको विचल्ली नै भएको छ । जिल्ला बाढीपीडित संघर्ष समितिका अध्यक्ष खगिराम रेग्मीले राज्यले आफूहरुलाई त्रिपालमै राखेर बन्दी बनाएको आरोप लगाए ।

विस्थापित भएको एकवर्ष पुग्न लाग्दा समेत सरकार बाढीपीडितको पुनसर््थापनामा गम्भिर नहुँदा त्रिपालको बसाई कष्टकर भएको रेग्मीको भनाइ छ । यता जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले पुनसर््थापनाको प्रक्रिया सुरु भइसकेकाले खासै समस्या नआउने दाबी गरे । जग्गा खरिद गर्न र घर निर्माणका लागि विस्थापितलाई रकम उपलब्ध गराउन थालिएको भन्दै उनले अब घर बनाउने काम विस्थापितको हातमा रहेको जिकिर गरे । असार महिनाभित्रमा सबै विस्थापितहरुले त्रिपालको बसाईबाट मुक्ति पाउने उनको दाबी छ ।