व्यापार मेलामा नेपाली व्यापारीको संख्या न्यून
गोपाल छन्त्याल
मुस्ताङ, ९ असार । नेपाल र तिब्बतको सीमा क्षेत्रमा व्यापार मेला सुरु भएको छ । नेपाली सीमादेखि ११ किलोमिटरको दुरीमा नेपाली र तिब्बतका व्यापारीहरुले सोमबार देखि साताव्यापी व्यापार मेला सुरु गरेका हुन् । मेलामा तिब्बतमा उत्पादित लत्ताकपडा, पेयपदार्थ, फर्निचर र निर्माणका सामाग्री, विभिन्न किसिमका कस्मेटिक सामान र नेपाली व्यापारिहरुले गलैचा, पस्मिना र यार्सागुम्बाको व्यापार गरिरहेका छन् ।
यसबर्ष नेपाली व्यापारीको सँख्या न्यून भएको लोमान्थाङका व्यापारी इन्द्रधारा विष्टले जानकारी दिए । ‘अहिलेसम्म गतबर्ष जस्तो नेपाली व्यापारीहरु गएका छैनन्, भूकम्पले पर्यटक नआउँदा व्यापार पनि कम भयो, उनले भने, ‘व्यापार नहुने भएपछि गतबर्ष जस्तो व्यापारीहरु जाने र सामान खरिद गर्ने क्रम कम हुने नै भयो ।’ नेपालीहरुले उत्पादन गरेका गलैंचा र यार्सागुम्बाको मूल्य अहिले सन्तोषजनक नभएको व्यापारीहरुले प्रतिक्रिया दिएका छन् । मुस्ताङका अधिकाँश व्यापारीहरुले जिल्ला भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर यहि व्यापारी मेलाबाट चिनियाँ उत्पादन ल्याउने गर्थे ।
मेलामा जाने नेपालीहरुलाई तिब्बतको झाङवासेन जिल्लाका अधिकारीहरुले निश्चित अवधीको परिचयपत्र बनाएर सामानको कारोबार गर्न पाउने व्यवस्था मिलाएको छ । यसअघि नेपालीहरुले त्यहाँका सुरक्षाकर्मीले उनीहरुको भूमि प्रवेश रोक लगाउँदै आएको थियो । विष्टका अनुसार, बर्षको दुईपटक आयोजना हुने व्यापार मेलामा तिब्बतमा उत्पादित सामान बढी मात्रामा बिक्री हुन्छ । अघिल्ला बर्षहरुमा नेपाल र खाशगरि सीमा क्षेत्रका व्यापारीहरु बीच सहकार्य गरेर व्यापार मेला आयोजना हुने गरिएपनि यसबर्ष देखि तिब्बतका व्यापारीहरुले एकतर्फी रुपमा मेला आयोजना गरेको बताईएको छ ।
गतबर्षहरुमा यहि मेला मार्फत उपल्लो क्षेत्रहरुमा थुप्रै मोटरसाईकल अवैध रुपमा भित्रिने गरेका थिए । त्यस्ता मोटरसाईकलहरु सदरमुकाम जोमसोम सम्म पनि आउने भएपनि यसबर्ष भने नेपाली भागमा समेत कडाई गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नरहरी बरालले जानकारी दिए । ‘भन्सार विभागबाट केहि कर्मचारी र सीमा प्रशासन कार्यालयले अहिले त्यो काम गरिरहेका छन्, जति समान नेपाली भित्रिन्छ ति सबैको भन्सार तिरेर मात्रै आउँछन्, उनले भने, ‘विगतमा त्यस्तो हुन्थेन ।’ भन्सार विभागबाट आएका कर्मचारीहरुले जिल्लामा रहेको त्यस्ता अवैध सवारीसाधनको लिलामी प्रक्रिया सुरु गरेर वैध बनाउने प्रक्रिया पनि सुरु गरेको उनले बताए । आगामी असार १४ गतेसम्म सञ्चालन हुने मेलामा नेपाली उत्पादन कम र चिनियाँ उत्पादनको बढी कारोबार हुने बताइएको छ ।