Live Streaming

दुर्घटनामा तीनजना गम्भीर घाइते

विराटनगर, ९ असार । विराटनगर ५ खार्जीमा आज भएको दुर्घटनामा परेर तीन जना गम्भीर घाइते भएका छन् । विराटनगरबाट सुनसरीको दुहवीतर्फ जाँदै गरेको को २ प ५८२८ नम्बरको मोटरसाइकल र विराटनगरतर्फ आउँदै गरेको को १९ प ३२३१ नम्बरको स्कुटर एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी प्रभुप्रसाद ढकालका अनुसार दुर्घटनामा परेर घाइते हुनेमा मोटरसाइकल चालक इलाका प्रहरी कार्यालय दुहवीमा कार्यरत प्रहरी हवल्दार २८ वर्षीय नवराज अधिकारी, स्कुटरमा सवार विराटनगर ११ की १८ वर्षीय प्रेरण राजवंशी, विराटनगर १५ की २० वर्षीया लक्ष्मी मगर रहेका छन् । दुर्घटनामा परेर मोटरसाइकलको पछाडि बसेका सुनसरी देवानगन्जका २२ वर्षीय सन्तोष साहलाई पनि चोट लागेको छ ।

घाइते मध्ये प्रहरी हवल्दार अधिकारीको टाउकोमा चोट लागेको छ । राजवंशीको दाहिने हातको पातो खुस्किएको छ भने मगरको दाहिने खुट्टा भाँचिएको छ । सवै घाइतेको विराटनगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका दुवै सवारी साधन र मोटरसाइकलको पछाडि बसेका साहलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । मोटरसाइकल चालक प्रहरी हवल्दार अधिकारीले मदिरा सेवन गरेको खुलेको डीएसपी ढकालले बताउनु भयो ।