Live Streaming

सम्मेलनमा सहभागी हुन विदेशी प्रतिनिधि आउने क्रम जारी

काठमाडौं,९ असार । काठमाडौंमा भोली हुने नेपालको पुर्ननिर्माणका लागि अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन विदेशी प्रतिनिधिहरु आउने क्रम जारी छ । अधिकांश मुलुक तथा दातृ संस्थाका प्रतिनिधिहरु आज काठमाडौं आउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चिनियाँ बिदेश मन्त्री वाङ्ग यी नेतृत्वको १० सदस्यीय टोली अपरान्ह साढे १२ बजे काठमाडौं उत्रने छ भने साँझ ६ बजे बिदेशमन्त्री सुस्मा स्वराजसहितको भारतीय टोली पनि काठमाडौं आईपुग्नेछ । काठमाडौं बसाईका क्रममा चिनियाँ बिदेशमन्त्री वाङ्गले राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री सुशील कोईराला र समकक्षी महेन्द्रबहादुर पाण्डेसँग द्विपक्षीय हीतबारे छलफल गर्नुहुनेछ ।

सम्मेलन सकिए लगत्तै स्वदेश फर्कने तयारीमा रहेकी भारतीय बिदेशमन्त्री स्वराजको राजनीतिक भेटवार्ताको भने टुङ्गो नलागेको परराष्ट्र स्रोतले जनाएको छ । यस्तै आजै नर्वेका बिदेशमन्त्री, बंगलादेशका अर्थमन्त्री र जापानका बिदेश राज्यमन्त्रीपनि आजै काठमाडौं उत्रनुहुनेछ ।

ईजरायलका अन्तराष्ट्रिय विकास सहायता संस्था, युरोपेली बिकास सहायता, अन्तराष्ट्रिय आप्रवासी संगठन, विश्व स्वास्थ्य संगठन, बिश्व खाद्य कार्यक्रम, एसियाली बिकास बैंक, बेलायती अन्तराष्ट्रिय विकास संस्था, अन्तराष्ट्रिय रेडक्रस लगायतका प्रतिनिधिहरु पनि आजै काठमाडौं आईपुग्नु हुनेछ ।

राष्ट्रसंघका उपमहासचिव ज्ञानचन्द्र आचार्य, भुटानका अर्थमन्त्री, श्रीलंकाका विपद् व्यवस्थापन मन्त्री, जापानी अन्तराष्ट्रिय विकास संस्था जाईकाका अध्यक्ष, राष्ट्रसंघीय विकास कार्यक्रमका सहायक प्रशासक भने यसअघि नै काठमाडौं आइसक्नु भएको छ । सरकारले भोली हुने सम्मेलनमा ५३ मुलुक तथा दातृ संस्थाका २ सय ३९ जनाको सहभागीता रहने पक्का भएको जनाएको छ ।