Live Streaming

​रोपेको धानको पात किराले खाँदा किसान चिन्तित

शिवराज खत्री
अछाम, ९ असार।  यस वर्ष असार पहिलो सातासम्म प्रशस्त पानी नपर्दा धान रोप्न नपाएर समस्यामा परेका अछामका किसान रोपेको धानको पात सुक्न थालेपछि थप चिन्तामा परेका छन् । 
सिचाईको सुविधा हुँदा समयमै धान रोप्न पाएका अछामको हिच्मा र बस्तीका किसानको धानको पात किराले कोतर्दा उनीहरु चिन्तामा परेका हुन् ।

धान रोपेको १०–१५ दिनमै धानको पात सुक्न थालेपछि किसानहरु निकै चिन्तित बनेको हिच्मा गाविस वडा नम्बर ५ कोइरेलीका किसान दलबहादुर बुढाले जानकारी दिनुभयो । आधा सुकेको धानको बोटानै ल्याएर बुढा जिल्ला कृषि विकास कार्यालय मंगलसैनमा पुग्नु भएको हो । 


बुढाले धानको पात सुक्ने समस्या हिच्मा र बस्ती गाविसका चाइरा खोलाको पानीले सिचाई हुने सबै खेतमा रहेको जानकारी दिए । रोपेको धानमा मात्र नभएर गह्रामा रहेको धानको बेर्नाको पात पनि सुकेको बुढाले बताए । वरिष्ठ कृषि विकास अधिकृत विष्णुहरी देवकोटाले काँडेदार हिस्पा नामको किराले कोतरेका कारणले धानको पात सुकेको बताए ।

पात सुक्दैमा धानको उत्पादनमा खासै कमी नआउने जानकारी दिँदै देवकोटाले खेतमा गह्रा भरीने गरी पानी राखिराख्न सुझावसमेत दिए । किराले धानको पात कोतर्ने मात्र नभएर पातभित्र फुल पारेर बच्चा जन्माउने काम समेत गरिरहेको देवकोटाले जानकारी दिए ।