Live Streaming

सर्वोच्चले राजनीति गर्न खोजे पनि संविधान रोकिन्न: ओली

काठमाडौं,८ असार । एमाले अध्यक्ष केपी ओलीले संविधान निर्माणका विषयमा दलहरुबीच भएको १६ बुँंदे सहमति कार्यान्वयन नगर्न आदेश दिएर सर्वोच्च अदालतले राजनीति गर्न खोजेको बताउनुभएको छ । नियमित स्वास्थ्य जाँंच गराएर थाइल्याण्डबाट स्वदेश फर्केका अध्यक्ष ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सर्वोच्चको आदेशले संविधान निर्माणको काम नरोकिने बताउनुभयो ।

सर्वोच्च अदालतको पछिल्लो आदेश राजनीतिक र अन्य उद्देश्यबाट प्रेरित भएर आएको ओलीको टिप्पणी छ । संविधान पूर्णरुपमा सार्वभौम भएको भन्दै कस्तो संविधान बनाउने भन्ने कुरा संविधानसभाको क्षेत्राधिकार भित्रको कुरा भएको अध्यक्ष ओलीको भनाइ छ । अदालतको जिम्मेवारी राजनीति गर्ने नभइ न्याय दिने हो भन्दै अध्यक्ष ओलीले सर्वोच्चको निर्णय मान्न नसकिने बताउनुभयो । उहाले राष्ट्रपति पद सेरेमोनियल हो भन्दै कुनै पनि प्रकारको राजनीतिक दाउपेच नगर्न राष्ट्रपति रामवरण यादवलाई सुझाव दिनुभयो ।  

राष्ट्रपति यादवले चार दलको १६ बुँदे सम्झौताप्रति सर्वोच्चको आदेश मान्न दलहरुलाइ दबाब दिएको र साना दलहरुलाइ उक्साएको आँकलन गरिरहेका बेला एमाले अध्यक्ष ओलीको यस्तो भनाइ आएको हो ।