Live Streaming

लुम्बिनीलाई धुम्रपानरहित बनाउन माग

कृष्णप्रसाद ढकाल 

भैरहवा,८ असार . विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई धुम्रपान रहित बनाउन माग गरिएको छ । सुर्तीजन्य पदार्थ ऐन २०६८लाई कार्यान्वयमा जोड दिदै जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीद्धारा सोमवार लुम्बिनीमा आयोजित अन्तरक्रिया कार्यक्रमका  सहभागीहरुले उक्त माग गरेका हुन । लुम्विनी क्षेत्रभित्र धुम्रपान मात्रै होइन मदिरा बिक्री वितरणका साथै पशु–पंक्षी वध गर्न समेत निषेध एवं रोक लगाउनु पर्ने कार्यक्रममा सहभागीहरुले जोड दिए । 


‘धार्मीक एवं शान्ति सुरक्षाका हिसावले पनि लुम्बिनी परिसरभित्र मधपान, धुमपान र पशुपंक्षी काटमार गर्नु उपयुक्त हुदैन् ।’ सहायक प्रमुख जिल्ला अधिकारी कौशलराज शर्माले भने । ‘लुम्विनी विकास कोषले परिसरभित्र यस्ता चिजहरु निषेध गर्नसक्छ । कोषका पदाधिकारी गंभिर भएर अगाडी वढे नियन्त्रण सम्भव छ र त्यस कामका लागि प्रहरी प्रशासनले साथ दिन्छ ।’ 
मधपान एवं धुमपान निषेध भए खाएर मातिने, झैझगडाका घटनाहरु पूर्ण रुपमा नियन्त्रीत हुने र लुम्विनी प्रवेश गर्ने सवै नागरिकमा पुर्ण शान्तिको विश्वास एवं अनुभुती गर्नसक्ने वातावरण तयार हुने ईलाका प्रहरी कार्यालय लुम्विनीका प्रहरी निरीक्षक लालगोविन्द श्रेष्ठले बताए ।

यसकिसीमको निषेधित कार्यबाट समाजमा शान्ति सुरक्षा र मानव स्वास्थ्यका साथै चौतर्फी रुपमा फाईदा पुग्ने उनले बताए । ‘यसकिसिमको अभियानले लुम्विनी थप आकर्षक केन्द्र बन्नेछ । अर्कोतर्फ विश्वभरबाट अझै धेरै पर्यटकहरु आगमनमा यो अभियान कोशेढुंगा सावित हुनेछ ।’ लुम्विनी सांस्कृतिक नगरपालिकाका कार्यकारी अधिकृत दुर्गानाथ गौतमले भने  । 

कार्यक्रममा प्रतिवद्धता एवं ऐक्यवद्धताको घोषणा गरेर मात्रै नहुने कार्यान्वयन गर्न साह्रै कठीन चुनौती रहेको उनले बताए । अभियान सफल पार्न लुम्विनी क्षेत्रका स्थानिय नगरवासी, लुम्विनी विकास कोष, प्रहरी, प्रशासन, नागरिक समाज, वजारका व्यापारीहरुको सामुहिक ऐक्यवद्धता जरुरी देखिन्छ । केहिसमय बजारका व्यापारीहरुले पनि रक्सीको सट्टा पानी जुसलगायत र माछा मासुको सट्टा अन्य सामानहरु बिक्री गरेर पसल चलाउने सहास गर्दै लुम्विनीको गौरव बढाउने कार्यमा लाग्नुपर्ने जिल्ला जनस्वास्थ्य कार्यालयमा प्रमुख जनस्वास्थ्य अधिकृत ऋषी लामिछानेले आग्रह गरे । 
कोष मातहतको जग्गा क्षेत्र बाहेक बाहिर बजारमा फुकुवा हुनुपर्ने लुम्विनीस्थित होटल तथा रेष्टुरा व्यवासायी संघ अध्यक्ष रामचन्द्र रेग्मीले बताए । लुम्विनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले स्थानियवासीको सल्लाह एवं सुझावलाई गंभिरतापूर्वक लिदैं कोषले त्यस किसिमको अभियान कार्यान्वयनका लागि भावी रणनीति एवं कार्ययोजना बनाउने सोचमा पुगेको बताए । 


यसैविच लुम्विनी सांस्कृतिक नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको छ । साक्षरता घोषणासंगै ‘हाम्रो लुम्विनी नेपालको गौरव, साक्षर लुम्विनी हाम्रो पौरख’ भन्ने मुल नारा फैलिएको छ । त्यसक्षेत्रमा २०६९ सालदेखि साक्षरता अभियान संचालन सुरुभएदेखियता पाँच वर्षदेखि माथि ८० वर्षमुनीका ११ हजार, २३९ जना निरक्षरमध्ये १० हजार ७२२ जना महिला–पुरुष साक्षर भएको सामुदायिक अध्ययन केन्द्रले जानकारीदिएको छ ।

नगरपालिका पूण साक्षर नभई साक्षर मात्रै घोषणा भएको कार्यकारी अधिकृत दुर्गानाथ गौतमले बताए । घोषणासभामा क्षेत्र नं. ७ का सभासद कमलेश्वर पुरी गोस्वामी, जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा समेतको उपस्थिती रहेको थियो ।