संविधानको मस्यौदा आज टुंगो लाग्ने
काठमाडौं, ८ असार । संविधान मस्यौदा समितिअन्तर्गत कार्यदलले पहिलो मस्यौदाको विषय आज टुंग्याउने नेताहरुले बताएका छन् । मस्यौदा तयारीका लागि हिजो बसेको कार्यदलको बैठकमा दलहरुबीच भोली संविधानको एकीकृत मस्यौदा ल्याउने विषयमा सहमति बनेको छ । आजको कार्यदल बैठकले मस्यौदाको पहिलो खाका माथि थप छलफल र अध्ययन गर्ने कार्यदल सदस्य भरतमोहन अधिकारीले जानकारी दिनुभयो ।
मस्यौदा गर्ने क्रममा सहमति भएका विषयमा कार्यदलमा खासै मतभेद नदेखिएको तथा संविधानको प्रस्तावना, भाग, धारा, उपधारामा कुन–कुन विषय कसरी समेट्ने भन्ने विषयमा अझै टुङगो लाग्न बाँकी छ । कार्यदलले संविधानका मस्यौदालाई अन्तिम रुप दिने क्रममा संविधानविद्, कानुन व्यवसायीसँग समेत औपचारिकरअनौपचारिक राय सुझावसमेत लिँदै आएको छ ।
प्रमुख दलहरुबीच भएको १६ बुँदे सहमतिको मूल भावनालाई समेटेर मस्यौदा लेखनको कामलाई अगाडि बढाइएको छ । न्यायधीशको पुर्ननियुक्ति, बहुलवादको परिभाषा, संक्रमणकालीन वस्थालगायतका विषयमा सहमति जुटाउन शीर्ष नेतृत्वलाई जिम्मा दिइएको छ ।