Live Streaming

​ पाल्पाको एसएससी नतिजा खस्कियो

जगदीश भराई 
पाल्पा,८ असार : एसएलसी परीक्षा २०७१ मा पाल्पा जिल्लाबाट ३७.७५ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका छन् । २८ जना परीक्षार्थीहरुको प्रयोगात्मक नम्बरबाट बञ्चित भएका कारण नतिजा प्रकाशित भएको छैन । विगत ५ वर्षको अवधीमा पाल्पा जिल्लामा एसएलसी परीक्षाको नतिजा ३५ प्रतिशत देखि ५५ प्रतिशतकोमा यो वर्ष सबैभन्दा कम परीक्षार्थी उतीर्ण भएका हुन ।  नियमिततर्फ ४ हजार ६ सय ८ जना परीक्षार्थी मध्ये १ हजार ६ सय १६ जना उत्तीर्ण भएका छन् । जसमा ८३ जना विशिष्ट श्रेणी, ७ सय ३७ जना प्रथम, ८७१ जना द्वितीय र २५ जना तृतीय श्रेणीमा उत्तीर्ण भएका छन् । 


२०६६ सालको एसएलसी परीक्षामा ५५.६ प्रतिशत, २०६७ सालमा ४०.३ प्रतिशत, २०६८ सालमा ३३.४ प्रतिशत, २०६९ सालमा ४२.६७, २०७० सालमा ४५.४७ प्रतिशत र २०७१ सालमा ३७.७५ प्रतिशत रहेको छ ।  हाल सम्मको परिणाममा न्यू होराईजन उच्च मावि तानसेन पाल्पाले जिल्ला प्रथम भएको दावी गरेको छ । सो विद्यालयका अमृत बस्यालले ७ सय २६ अंक ९०.७२ प्रतिशत ल्याई जिल्ला प्रथम भएको दावी गरेका छन् । समग्र जिल्लाको रिजल्ट विगत वर्षमा भन्दा कमजोर देखिएकोले शिक्षासंग सरोकार राख्नेपक्षहरुसंग छलफल गरी सुधार गरेर लैजाने जिल्ला शिक्षा अधिकारी अधिकारी टोपबहादुर श्रेष्ठले बताए ।

हामीले एसएलसी परीक्षाको नतिजालाई मात्र नेहेरी समग्र शिक्षाको बारेमा मुल्याड्ढन गर्नुपर्ने जिशिअ श्रेष्ठले बताए ।  यसैगरी एक्जाम्टेडतर्फ १ हजार १ सय ८२ जना विद्यार्थीमध्ये, १ सय ४५ जना द्वितीय र ३७ जना तृतीय श्रेणीमा उत्तीर्ण भएका छन् । एक्जामटेडतर्फ १५.४० प्रतिशत उत्र्तीण भएको जिल्ला शिक्षा कार्यालय पाल्पाले जनाएको छ । गत वर्ष एसएलसी परीक्षामा ४५ प्रतिशत नतिजा आएको यस वर्ष ७ प्रतिशतले पाल्पाको एसएलसी परीक्षाको नतिजा घटेको छ । 


पाल्पा जिल्लामा ३ वटा सामुदायिक विद्यालयको नतिजा शुन्यमा झरेको छ । लक्ष्मी उच्च मावि बन्दिपोखरा, नवदुर्गा मावी रामपुर र जोगवाणी मावि भुवनपोखरी नतिजा शुन्य रहेको छ भने सामुदायिक विद्यालयतर्फ नै दराईठाटी उच्च मावि रामपुरले ६२.१२ प्रतिशत, देववाण्ी संस्कृत तथा साधारण मावि तानसेनले ७९.६९ प्रतिशत र प्रभात मावि पालुङ्ग मैनादीले ८८.८९ प्रतिशत नतिजा ल्याएको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत रेशमलाल न्यौपानेले बताए ।

विगतका वर्षहरुमा शुन्य नतिजा ल्याई खारेजीको अवस्थामा पुगेको देववणी विद्यालयमा २४ जना मध्ये १९ जना उत्तीर्ण भएका छन् भने प्रभास माविमा १८ जना मध्ये १६ जना उत्तीर्ण भएका छन् । पाल्पा सदरमुकाममा नाम चलेका महेन्द्रवोधी, मोहनकन्या, पपउमाविको नतिजा भने ३० प्रतिशतको हाराहारीमा मात्र रहेको छ । अहिले पनि पाल्पाको नतिजा हेर्दा सामुदायिक विद्यालयहरुको भन्दा निजी विद्यालयहरुको निकै राम्रो देखिएको छ । निजी विद्यालयतर्फ बृन्दावन एकेडेमी प्रशान्ती चिल्ड्रेन एकेडेमी तानसेनले शत प्रतिशत नतिजा ल्याएका छन् । ८३ जना विशिष्ट श्रेणी मध्ये सरकारी विद्यालयमाबाट १५ जना र निजी विद्यालयबाट ६८ जना परेका छन् । 


सरकारी विद्यालय अन्तर्गत जनता उमावि तानसेनले ४, दराईठाटी उमावि रामपुर ४, दमकडा उमावि २, रत्नमावि १, कालिका उमावि १, कर्णधार मावि १, रम्भा उमावि १ जना, जनकल्याण उमावीले १ विशिष्ट श्रेणीमा उत्तीर्ण गराएका छन् । पाल्पामा सवैभन्दा बढी न्यु होराईजन उमाविले २५ जना, रामपुर बोडिङ्गले १०, सेन्टकपितानियो ९ जना, रिभरभ्यालीले ८ जना, आनन्द निकेतनले ५, बेथल स्कुलले ४ जना, पाल्पा आवासियले २ जना, प्रशान्ती एकेडमीले २ जना, बृन्दावन एकेडेमी १ जना, विशिष्ट श्रेणीमा उत्तीर्ण गराएका छन् ।

जिल्लामा १ सय ३ वटा सामुदायिक विद्यालयबाट नियमित तर्फ ४ हजार १ सय ६४ जना, एक्जाम्टेड तर्फ १ हजार १ सय ६६ जना गरी ५ हजार ३ सय ३० जना विद्यार्थी सहभागि भएका थिए भने १३ वटा निजी तथा संस्थापक विद्यालयबाट नियमिततर्फ ४ सय ४४ जना र एक्जाम्टेड तर्फ १६ जना गरी ४ सय ६०  जना विद्यार्थी परिक्षामा सहभागि भएका थिए । यस वर्ष देखी जिल्लाको मोहनकन्या उच्च माविबाट कम्प्युटर र लक्ष्मी उच्च माविबाट कृषि गरी २ वटा विद्यालय ६२ जना विद्यार्थीले प्राविधिक विषयको नतिजा भने केही दिन पछि प्रकाशित हुनेछ ।

खुला विद्यालयबाट ५७ जना एसएलसी परीक्षा दिएका थिए । दृष्टि विहीनहरु सबै उतीर्ण  पाल्पाको दमकडा उच्च माविबाट ४ जना दृष्टिविहीनहरुले परीक्षा दिएकोमा ४ जना नै उत्तीर्ण भएका छन् । दृष्टिविहिन पार्वती केसी, तालबहादुर रास्कोटी प्रथम र टुका न्यौपाने र समिक्षा कार्की द्वितीय श्रेणीमा उत्तीर्ण भएको प्राचार्य माधव पाठकले बताए ।