Live Streaming

​सरकारले आज पुर्ननिर्माणका लागि उच्चस्तरीय प्राधिकरणबारे जानकारी गराउने

काठमाडौं,८ असार । सरकारले आज पुर्ननिर्माणका लागि उच्चस्तरीय प्राधिकरण गठनबारे राजनीतिक दल, पूर्व प्रधानमन्त्रीलगायतलाई जानकारी गराउने भएको छ । बिहान साँढे ११ बजे पछि बालुवाटारमा राजनीतिक दल पूर्व प्रधानमन्त्रीहरु, सरोकारवालालाई आमन्त्रण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

संसद अधिवेशनबाटै पुननिर्माण सम्बन्धी कानून ल्याउनु पर्ने अडानमा रहेका एकीकृत माओवादी र फोरम लोकतान्त्रिकको असहमतिका बाबजुद सरकारले अस्ति राष्ट्रपतिसमक्ष अध्यदेश सिफारिस गरेको थियो भने राष्ट्रपति रामवरण यादवले हिजो प्रमाणिकरण गर्नुभएको थियो । यसैबीच सर्वोच्च अदालतले १६ बुँदे सहमति कार्यान्वयनमा रोक लगाएपछि उत्पन्न परिस्थिति र पुनरावेदनबारे आजै चारदलबीच पनि छलफल हुने कंगे्रस सहमहामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।

बैठकमा सर्वोच्चको आदेशपछि राज्यका प्रमुख तीन अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीच देखिएको विवादबारे समेत छलफल हुनेछ । यस्तै बैठकमा संविधानको मस्यौदा लेखनका क्रममा विवादित बनेका केही बिषयमाथि समेत छलफल हुनेछ । संविधान मस्यौदा समितिले सभापति कृष्ण सिटौलाको सयोजकत्वमा कार्यदल गठन गरेपनि बुहलवाद लगायत केही सामाजिक बिषयहरुमा भने सहमति जुटाउन सकेको छैन ।