मुल्यवृद्धि तत्काल रोक्न संसदीय समितिको सरकारलाई निर्देशन
काठमाडौं,७ असार । संसदको लेखा समितिले भूकम्प पछि बजारमा वस्तुको मुल्य बढेको भन्दै तत्काल मूल्य वृद्धि रोक्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरवारमा आज बसेको समिति बैठकले वस्तुको मूल्य बढेको र आपूर्ति व्यवस्था असहज भएको गुनासो आएकोले तत्काल नियन्त्रण गर्न निर्देशन दिएको हो । बैठकमा बाणिज्य तथा आपूर्ति मन्त्री शुनिल बहादुर थापालाई बोलाएर समितिले आपूर्ति व्यव्स्था सहज बनाउन निर्देशन दिएको हो ।
बैठकले प्रभावित क्षेत्रमा ३ महिनाको लागि खाद्यन्न भण्डारण गर्न पनि सरकारलाई भनेको छ । त्यस्तै प्रभावित क्षेत्रमा गुणस्तरियहीन खाद्यान्न तथा पेय पदार्थ वितरण हुँंदा समेत सरकार मौन बसेको भन्दै अखाद्य वस्तु वितरण गर्नेलाई कारर्वाही गर्न निर्देशन दिएको छ । भूकम्प प्रभावित क्षेत्रमा विश्व खाद्य कार्यक्रमले वितरण गरेको राहात चामल कुहिएको भेटिएकोले सो को अनुसन्धान गर्न पनि समितिले भनेको छ ।
बैठकलाई जवाफ दिंदै मन्त्री थापाले गुणस्तरियहीन खाद्यन्न तथा पेय पदार्थ वितरण गरेको पाइए जो सुकैलाई नै कारबाही गरिने बताउनु भएको छ । मन्त्री थापाले अखाद्य वस्तु वितरण गर्ने सरकारी कर्मचारीलाई समेत कारबाही गरिने चेतावनी दिनुभयो । भुकम्प प्रभावित जिल्ला गोरखा लगायतका विभिन्न जिल्लामा विश्व खाद्य कार्यक्रमले वितरण गरेको चामाल कुहिएको भेटिएको थियो ।
मन्त्री थापाले प्रभावित क्षेत्रमा खाद्यन्न अभाव हुन नदिन सरकार सजग रहेको भन्दै आपूर्ति व्यबस्था सहज बनाउने बताउनुभयो । राजमार्गहरु अबरुद्ध भएमा बैकल्पिक बाटोबाट आपूर्ति व्यवस्था मिलाइने सरकारको तयारी छ । त्यस्तै समितिले प्रभावितका लागि आएको राहात साम्रगी विक्री वितरण भएको गुनासो आएकाले अहिलेसम्म स्वदेशी तथा विदेशबाट आएको राहात साम्रगीको सम्पूर्ण विवरण पेश गर्न सरकारलाई निर्देशन दिएको छ । सो विषयमा छलफल गर्न आगामी बैठकमा समितिले गृहमन्त्री बामदेव गौतमलाई बोलाएको छ ।