Live Streaming

चटपटे खाँंदा स्वास्थ खतरामा

काठमाडौं,७ असार । चटपटे भन्ने वित्तिकै जोसुकैको मुख रसाएर आउँंछ । अझ युवायुवतीमाझ यो परिकार निकै लोकप्रिय हुँंदै आएको छ । तर अब चटपटे पारखीहरुले होसियार हुनुपर्ने बेला आएको छ । बढी मात्रामा अमिलो, पीरो मिसाएर बनाइने यो परिकारले मानव जीवनमा ठूलै असर पारेको छ । चटपटे पसलले कागतिको अमिलको सट्टा हाल्ने एसिडयुक्त अमिलोले मानव स्वास्थ्य जोखिममा परेको हो ।


कागतीको अमिलोको सट्टा मिसाइने भेनेगर नामक अमिलोले चटपटे खानेहरुमा गम्भीर समस्या निम्त्याइरहेको छ । बिहानदेखि बेलुकैसम्म चटपटे खान बालबालिकादेखि युवायुवतीको समेत लर्को लाग्छ । तर त्यही चटपटे तपार्इं हाम्रो स्वास्थ्यको शत्रु बनिरहेको पाइएको छ । भेनेगरको अमिलोका कारण आन्द्रामा घाउ हुन थालेपछि यसको असरबारे सर्वत्र चर्चा हुन थालेको छ । चिकित्सकको एक अध्ययनले चटपटेमा भेनेगर (एसिड) अमिलो हालेर खाँदाण आन्द्रामा विभिन्न घाउ हुन थालेको स्वास्थ्यकर्मीले पत्ता लगाएका छन् ।

जथाभावी खुलेका चटपटे पसलमा नछोपी राखेको खानेकुरा र भेनेगरको अमिलोले स्वास्थ्यमा गम्भीर असर पुर्‍याउन थालेपछि जिल्ला प्रशासन कार्यालय इलामले निगरानी बढाउन थालेको छ । आइतबार सहायक प्रजिअ सुजन फागोको नेतृत्वमा ट्याक्सी स्टेन्ड, बसपार्क, टुंडिखेल, थेबेचोक, धोवीधारा, जिरोकिलोमिटर र नारायणस्थानलगायतका तीन दर्जन चटपटे पसलमा गरिएको अनुगमनका क्रममा स्वास्थ्यमा असर गर्ने भेनेगर अमिलो प्रयोग हालेको भेटिएको थियो ।

अनुगमनका क्रममा भेटिएका चटपटे पसलमा प्रयोग गरिरहेका भेनेगरलाई तत्काल सोही ठाउँमा नष्ट गरिएको छ । पसलमा राखिएका भेनेगरलाई तत्काल हटाउन पनि सहायक प्रजिअ फागोले निर्देशन दिए । 'भेनेगर एसिड हो,यसले मानिसलाई असर गर्छ', जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट फडिन्द्र बरालले भने, 'यो मिसाएको चटपटे खाँदा स्वास्थ्यमा गम्भीर असर पर्छ ।'

अनुगमन टोलीले पहिलो पटक चटपटे पसलको अनुगमन गरेकाले सचेत गराइएको जनाएको छ । दोस्रोपटक अनुगमन गर्दा भेटिएमा एक लाखसम्म जरिवाना र सार्वजनिक ऐनअन्तर्गत मुद्दा दर्ता हुने प्रशासनका नायब सुब्बा रामप्रसाद उप्रेतीले बताए । रासस