किसानले बर्षे धानको मूल्य पाएनन्
भानुभक्त आचार्य
हेटौंडाः दिनरात खेतमा पसिना बगाएर उत्पादन गरेको धानको मूल्य नपाएपछि किसान चिन्तित बनेका छन् । भुसको भाउ भन्दा पनि धानको भाउ सस्तो भएको भन्दै धान उत्पादक किसानले चिन्ता गरेका हुन् । धानको मूल्यमा गिरावट आएपनि उपभोक्ताले चामल सस्तोमा पाएका छैनन् । किसानले उत्पादन गरेको धान उपभोक्ताले पकाउने भान्सामा आईपुग्दा त्यसको मूल्य तीन गुना बढी पुगिरहेको छ ।
अहिले बर्षेधान १२ रुपैयाँ प्रतिकिलोका दरले बिक्री भएको हाँडीखोलाका किसान माधब गौतमले बताए । तर, बजारमा मोटा चामलको मूल्य भने प्रतिकेजी ४० रुपैयाँ भन्दा माथि छ । १२ रुपैयाँमा किसानले धान बिक्री गर्नु पर्ने तर, उपभोक्ताले चामल भने ४० रुपैयाँ भन्दा बढी तिर्नुपर्ने अवस्था छ । सामान्यतया एक सय केजी धान कुट्दा ७० देखि ७५ केजीसम्म चामल उत्पादन हुने व्यापारीहरु बताउँछन् ।
धान व्यापारी नानीबाबु थापाका अनुसार किसानले खेतमा झारेर ल्याएको धान १२ रुपैयाँसम्म दिएर किनिएको छ ।आलो धान राम्रोसँग सुकेको पनि हुँदैन त्यसैले १२ देखि १५ रुपैयाँसम्म मूल्य कायम भएको धानव्यापारी थापाले जानकारी दिए । बजारमा सस्तो चामलको मूल्य ४० रुपैयाँ रहेको मकवानपुर उद्योग वाणिज्य संघका सदस्य तथा खाद्यान्न व्यवसायी अमृत दाहालले बताए ।
बिचौलियाले नै बढी कमिसन खाने प्रबृत्तिले किसानहरुमा निराशा पैदा भएको छ । धान किन्ने व्यापारीहरु बीरगंजबाट पनि आएका छन् तर, उनीहरुले पनि १२ देखि १५ रुपैयाँसम्म मूल्य तिरेर बर्षेधान खरिद गरिरहेको किसानहरुले बताएका छन् ।धानखेती गर्ने किसानको आकर्षण हाइब्रीड बीउतर्फ बढेपछि मकवानपुरमा मौलिक जातका धानको बीउ लोप हुने अवस्थामा पुगेको छ । हाईब्रिड बीउले धानको उत्पादनमा वृद्धि हुने भएको कारण स्थानीय जातको धानखेती हुन छोडेको छ ।
दिनप्रतिदिन बढिरहेको खाद्यसंकटलाई थेग्ने गरी राज्यले किसानलाई हाईब्रीडतर्फ लैजान खोजेपछि ग्रामीण क्षेत्रमा स्थानीय जातको धानखेती हुन छाडेको छ । सामान्यतया किसानले बर्षेधान हाईब्रिड जातकै खेती गर्न रुचाउने गरेको कृषि विकास कार्यालयका अधिकृत जनकदत्त घिमिरेले बताए । मकवानपुरमा धानबालीका लागि उपयुक्त मानिएको जमिन ११ हजार १ सय १० हेक्टर रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
चैते धानको लागि २ हजार ५ सय ७१ हेक्टर जग्गा उपयुक्त रहेको छ । चैतमा लगाइएको धान १० हजार मेट्रिकटन उत्पादन हुनसक्ने अनुमान कृषि कार्यालयले गरेको छ । हाईब्रिड बीउले उत्पादन बढेको भएपनि कृषकहरुमा अन्नबाली सञ्चित गर्ने प्राविधिक ज्ञानको अभावका कारण मुसाले खाने, कुहिने, घरेलु मदिरा उत्पादन गर्ने, अखाद्य रुपमा प्रयोग गर्ने कारणले गर्दा मकवानपुरमा वर्षौनि धान तथा अन्य खाद्यान्न बाहिरबाट आयात गर्नुपर्ने वाध्यता छ ।