सोह्र बुँदे सहमती तोडिन सक्छ : एमाओवादी सचिव रायमाझी
काठमाडौं, ७ असार ।
एमाओवादीका सचिव टोपवहादुर रायमाझिले सरकार भ्रष्टाचारमा लिप्तहुँदै एकलौटी तरिकाले अघि बढेको आरोप लगाउनुभएको छ । रेडियो अन्नपूर्ण नेपालको नियमीत विहानी कार्यक्रम फ्रन्टलाइनमा कुरा गर्दै रायमाझिले सरकारको यस्तै रबैया जारी रहेमा सोह्र बुँदे सहमति तोडिन सक्ने चेतावनी समेत दिनुभयो । मन्त्रालयहरुबाट अरबौं रुपैंया हिनामिना गरेको प्रतिवेदन सरकारी निकायबाट नै पेश हुनु, राष्ट्रिय एकता आवश्यक परेको बेला अध्यादेशबाट पुनर्ननिर्माण प्राधिकरण गठन गर्नुले सरकार आफुहरुसँग सहकार्य चाहदैन भन्ने प्रष्ट भएको उहाँको दावी छ ।
संविधान निर्माणको लागि एकता जारी रहने भएपनि सरकारको रबैया परिवर्तन नभए तत्काल अर्को सरकार गठन गर्नुपर्ने अवस्था आउने उहाँको भनाइ छ । संविधान निर्माण हुन नदिन विभिन्न शक्तिहरु हावी हुन लागेको बताउँदै सचिव रायमाझिले १६ बुँदे कार्यान्वयन नगर्न सर्बोच्चले दिएको अन्तरीम आदेश पनि त्यसैको संकेत भएको उहाँको दावी छ । संविधानसभा सार्वभौम भएकाले कसैले व्यवधान गर्न खोजेपनि संविधान निर्माण प्रकृया नरोकिने उहाँको भनाइ छ ।
विहिबार हुन लागेको दाता सम्मेलनको लागि उल्लेख्य सरकारी प्रयास नभएको आरोप लगाउँदै एमाओवादी सचिव रायमाझिले सरकारी संयन्त्रनै भ्रष्टाचारमा लिप्त भएकाले दाताहरु समेत खुलेर सहयोग गर्ने मनस्थितिमा नरहेको जिकिर गर्नुभयो ।