लेखा समितिले आपूर्ति मन्त्रीलाई बोलायो
काठमाडौं, ७ असार ।
ब्यवस्थापिका संसद अन्तरगतको सार्वजनीक लेखा समितिको बैठक आज बस्दैछ । सिंहदरवारमा बिहान ११ बजेपछि बस्ने बैठकमा समितिले आपूर्ति मन्त्री सुनिलबहादुर थापालाई बोलाएको छ । भुकम्प पीडितका लागि भन्सार छुट सहित नेपाल भित्र्याईएका सामाग्रीको उचित बितरण नभएको भन्दै लेखा समितिले आज मन्त्री थापासँग जानकारी लिन लागेको हो । बिभिन्न मुलुकबाट १५ करोड रुपैयाँ बराबरको खाद्यान्न आयात गरेको देखिएपनि त्यसको वितरण प्रभावकारी नभएको समितिको बुझाई छ ।
एक अर्ब ७७ करोड ३६ लाख ४१ हजार ९ सय २० रुपैयाँ भन्सार छुटमा राहत सामाग्री नेपाल भित्रिएको देखिएपनि सरकारले न्यायोचित ढंगबाट बितरण गर्न नसकेको समितिको ठहर छ । बिभिन्न मुलुकबाट संकलन भएको रकम तथा राहत सामाग्रीको तथ्याङ्क समेत राख्न नसकेको भन्दै समितिले सरकारका सम्बन्धित मन्त्रीहरुसँग सोधपुछ तिब्र बनाएको हो ।
समिति सदस्य रामहरी खतिवडाकाअनुसार, पाल खरिद, खाद्यान्न आपूर्ति, राहत संकलन तथा बितरणमा ब्यापक अनियमितता भएको भन्दै समितिले गृह, अर्थ र परराष्ट्र मन्त्रीहरुसँग पनि आगामी दिनमा सोधपुछ गर्नेछ । समितिले यसअघि पाल खरिदमा करोडौं रुपैयाँ भ्रष्टचार भएको भन्दै शहरी बिकासमन्त्री नारायण खड्कासँग जानकारी लिएको थियो ।