कंग्रेस नेताबीच कुटाकुट
क्रान्ति साह, वीरगञ्ज ।
क्रियाशील सदस्यताको बिषयलाइ लिएर पर्सामा नेपाली काँग्रेसका नेताहरुबीच हातहालाहाल भएको छ । सदस्यता वितरणमाथि उत्पन्न विवाद समाधानका लागि भन्दै हिजो साँझ वीरगन्जमा बसेको जिल्ला कार्य समिति बैठकमा केन्द्रिय सदस्य अजय चौरसीया र जिल्ला सभापति एंव सभासद सुरेन्द्र चौधरीबीच कुटाकुट भएको हो । नेताहरु बीच नै हात हालाहाल भएपछि प्रतिनिधीका रुपमा खटिएका केन्द्रिय सदस्य फरमुल्लाह मन्सुरले बैठक स्थगीत गर्नुपरेको थियो । बैठकमा क्षेत्र नम्बर ४ का सभापति श्रीकृष्ण चौहान र जिल्ला सदस्य नवीन सिंहबीचको विवादमा केन्द्रिय सदस्य चौरसीयाले क्षेत्रीय सभापति चौहानलाइ अपशब्द प्रयोग गरेपछि सभापति चौधरीले प्रतिवाद गर्नुभएको थियो ।
त्यस लगत्तै केन्द्रिय सदस्य चौरसीयाले सभापति चौधरीको कठालो समाते पछि चौधरीले चौरसीयाको गालामा थप्पड हान्नुभएको थियो । चौरसियाले आफनो पदीय हैसियत भुलेर अपशब्द प्रयोग गरेकाले सभापति चौधरीले चौरसियालाई हातपात गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए । तर चौरसीया पक्षका जिल्ला सदस्य सिंहले भने सभापति चौधरी माथि आफुले हातपात गरेको बताउनुभयो ।
सभापति चौधरीले भाडभैलो गर्ने मनसायले सदस्यता वितरणमा जथाभावी गरेको र जेठ २६ गतेको बैठकले गरेको निर्णयलाई नमानेकोले उहाँमाथि हातपात गरेको दावी गर्नुभएको छ । नेताद्धय चौरसीया र चौधरी बिच कुटाकुट हुन थालेपछि बैठकमा सहभागी अरु नेताहरु भने बैठक नै छाडेर भागेका थिए ।