नोवेलमा आन्दोलन जारी, स्वास्थ सेवा प्रभावित
विराटनगर, ६ असार स् विराटनगरस्थित नोवेल मेडिकल कलेजमा प्रशिक्षार्थी डाक्टरहरुले सुरु गरेको आन्दोलन झन चर्किएको छ । सेवासुविधा वृद्धि र धरौटी फिर्ताको माग गर्दै गत बिहीबारदेखि प्रशिक्षार्थी डाक्टरहरु आन्दोलनमा उत्र्रिएका थिए । नोवेल प्रशासनले आफूहरुको मागको सुनुवाई नगरेको भन्दै उनीहरुले आन्दोलनलाई थप चर्काएका छन् ।
आफूहरुको अध्ययन सुरु गर्दा लिइएको ५० हजार धरौटी फिर्ता नगरेको र श्रमशोषण गरिएको भन्दै प्रशिक्षार्थी डाक्टहरुले सुरु गरेको आन्दोलनलाई मत्थर बनाउन कुनैपनि पहल नहुँदा झन चर्किएको छ । आन्दोलनरत पक्षकले खुल्ला आकाश र पाल मुनी दिनरात विताएर आन्दोलन गरिरहेका छन् ।
उनीहरुले अन्य मेडिकल कलेजमा प्रशिक्षार्थी डाक्टरलााई दिने गरिएको प्रति महिना १२ हजार रुपैयाँ पारिश्रमिक पाउनु पर्ने माग पनि गरेका छन् । नोवेलले एक जना प्रशिक्षार्थी डाक्टरलाई मासिक तीन हजार रुपैयाँ दिंदै आएको छ । धरौटी फिर्ता हुनु पर्ने र पारिश्रमिक बनाउनु पर्ने माग राखेर भइरहेको आन्दोलनका कारण नोवेल मेडिकल कलेज अस्तव्यस्त बनेको छ ।
आन्दोलनको सुरुवातदेखिनै मुल ढोकामा धर्नामा बसेका प्रशिक्षार्थी डाक्टरहरुले आज भने मुल गेटमा अवरोध गरेका छन् । उनीहरुले कन्सल्टेन्ट डाक्टर र विद्यार्थीलाई नोवेल भित्र पस्न रोक लगाउँदै मुल गेटमा अवरोध गरेका हुन् । आन्दोलनरत डाक्टरहरुले एम्बुलेन्स, अक्सिजनका गाडी र उपचारका लागि आएका बिरामीहरुलाई भने कुनैपनि अवरोध नगरेको बताएका छन् ।
नोवेलमा रहेका एक सय बढी प्रशिक्षार्थी डाक्टरको आन्दोलनकाका कारण स्वास्थ्य सेवा चार दिनदेखि प्रभावित बनेको छ । नोवेलका सूचना अधिकृत नारायण दाहालले समस्या समाधानका लागि आन्तरिक रुपमा अस्पताल प्रशासनले छलफल गरिरहेको बताउनु भयो ।