जोखिम मोलेर मह व्यापार
गोपाल छन्त्याल
म्याग्दी,६ असार । जिल्लाको माथिल्लो क्षेत्रमा यतिबेला भीरबाट मह निकाल्ने सिजन सुरु भएको छ । स्थानीयबासी जोखिम मोलेर भीरबाट मह निकाल्न व्यस्त बनेका छन् । जिल्लाको कुइनेमंगले, चिमखोला, गुर्जा, मुदी, मल्कबाङ, लुलाङ, निस्कोट, दरबाङ, शिख, घार, दोवा लगायतका गाविसमा भीर माहुरीको मह सिकार भइरहेका छन् ।
भीरमा डोरीको भरमा जोखिम मोलेर मह काट्नुपर्ने भएकाले स्थानीयले सुरुमा देवीदेवताको पूजा गरेपछि मात्रै मह काट्ने गर्छन् । गुर्जामा परम्परागत पेशा बनेको मह व्यापारलाई विभिन्न चार समुहमा बनाएर आलोपालो मिलाएर मह काट्ने गरिएको स्थानीय झकबहादुर छन्त्यालले जानकारी दिए ।‘हरेक वर्ष एउटा मात्रै समुहले मह काट्छन्, छन्त्यालले भने, ‘एउटा समुहमा ४० देखि ५० घरधुरी गरी गाविसका सबै घरधुरी समेटिएको छ ।’
करिब दुई महिनासम्म निरन्तर रुपमा मह सिकार गरेपछि समुहमा आबद्ध घरधुरीलाई बराबर मह वितरण गर्ने चलन रहेको छन्त्यालको भनाई छ । बरमथान, छहरा, ल्यासपुर, सितमनाथ, रातोभिर, कुन्ना, ठूलोभिर, रिमताला, चुरेन हिमाल लगायतका ५० बढी भीरहरुमा मह सिकार हुने गुर्जामा एक वर्षमा महको उत्पादन अनुसार एउटा समुहका हरेक घरधुरीलाई ५ देखि २५ लिटरसम्म मह पर्छ ।
जोखिमयुक्त र साहसीक मानिने भीर महलाई सामूहिक रुपमा संकलन गरेपछि एकमुष्ठ रुपमा आगोमा पकाएर प्रशोधन गरी बाँडफाँड गरिने स्थानीय प्रेम बहादुर छन्त्यालले बताए ।बजारमा प्रतिलिटर १ हजार सम्ममा भिर मह विक्रि हुने गर्छ । भीरपहराबाट निकालीने मह खरिद गर्नका लागि सहरी क्षेत्रका ग्राहकहरु जंगलमै पुग्न थालेपछि जिल्लामा महशिकार पनि फस्टाउँदै गएको छ । ‘भीरबाट मह निकाल्न सक्नुप¥यो, जति पनि बिक्री हुन्छ, बजारमा यसको माग उच्च छ, लुलाङका केसर बहादुर पुर्जाले भने ।
स्थानीयबासी देखि बेनी, पोखरा, काठमाडौ र विदेशबाट समेत महको माग आउने गरेको उनको भनाई छ । चैत महिना सम्म तल्लो क्षेत्रका भीरबाट मह निकालिने भएपनि उच्च पहाडी क्षेत्रका पहाडमा असारसम्म पनि मह निकाल्ने गरिन्छ । गर्मी सुरु भएपछि माहुरीहरु लेकमा र जाडो सुरु भएपछि बेसीमा बसाईसराई गर्ने भएकाले दुवै क्षेत्रमा भीर माहुरीको महको संभावना उच्च छ ।आगोको धँुंवा लगाइ सकेपछि डोरीको सहायताले भीरमा चढ्ने शिकारीले डालो जस्तो चोयाँको भाँडोमा मह निकाल्ने गर्छन भने पहाडको फेदीमा बसेकाहरुले भीरमा झिकेको महलाई सुरक्षित ठाउँमा राख्ने काममा सघाउने गरेको देखिन्छ ।
जिल्लाको विभिन्न २०गाविसमा भिर मह उत्पादन हुने गरेको पाईएको छ । केही क्षेत्रमा सामुदायिक वन र प्रभावित क्षेत्रका बासिन्दालाई एकदेखि पाँच हजार रुपैया चन्दा दिएर माथिल्लो भेगका सिपालुहरुले मह व्यापार गरेको पाइन्छ ।घरमा उत्पादन हुने मह जस्तै भीर मह पनि गुलियो, स्वादिलो र विभिन्न रोग विरुद्धको औषधीको रुपमा प्रयोग गरिन्छ । भीर माहुरीको चरनक्षेत्र फराकिलो हुने र विभिन्न फलफूल देखि जडीबुटीहरुका समेत रस खाने हुँदा भीरमह बढी कडा हुने जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत बसन्त कुमार श्रेष्ठले बताए ।
जिल्लामा अहिले न्यून मात्रामा इजाजत लिएर मह शिकार हुनेगरेको निमित्त जिल्ला वन अधिकृत अजयविक्रम मानन्धरले बताए । जिल्लामा विभिन्न स्थानमा गरी २ हजार २ सय ८० किलो भिर मह उत्पादन हुने र त्यसमध्ये वार्षिक १ हजार २ सय ७६ किलो मह संकलन गर्न पाइने भएपनि चालु आर्थिक वर्षमा ३० किलो भीर मह संकलन पुर्जी जारी भएको जानकारी उनको भनाई छ ।