पहिरो पीडितलाई राहत
ताप्लेजुङ, ४ असार । पहिरो गएको हप्तादिन पछि ताप्लेजुङका पहिरोपिडितलाई आपत्कालिन राहत वितरण सुरु गरिएको छ । पीडित परिवारका लागि सरकारी तथा गैरसरकारी निकायबाट आएको खाद्यान्न, लत्ताकपडा, पाल, भाँडावर्तनलगायत राहत सामग्री प्रभावित क्षेत्रमा पु¥याउन थालेको प्रमुख जिल्ला अधिकारी डम्बरुप्रसाद निरौलाले जानकारी दिनुभयो ।
उहाका अनुसार सदरमुकामवाट टाढा रहेका भौगोलिक रुपले विकट गाविसहरुमा हेलिकोप्टरले राहत पुर्याउन थालेको छ । पश्चिमी क्षेत्रको पहिरोवाट विस्थापित भएकाहरुलाई खोक्लिङको मोती उच्च माध्यमिक विद्यालय र पुर्वी क्षेत्रका विस्थापितहरुको लागि खेबाङमा हेलिकोप्टरवाट राहत सामग्री झारिएको थियो ।
लिवाङका एक सय ५१ घर, थिङलाबुका २३, पेदाङमाका १४, खाम्लुङका ३०, खेवाङका ११ पीडित परिवारलाई हेलिकोप्टरबाट राहत र्पुयाइएको छ । त्यस्तै मृतकका परिवारलाई राज्यले उपलब्ध गराउने रकम पनि १६ परिवारलाई दिएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिनुभयो ।