Live Streaming

मन्त्रीपरिषदमा विवाद

काठमाडौं, ४ असार । भुकम्पछिको पुनस्र्थापना तथा पुर्ननिर्माण लागि बन्ने भनिएको प्राधिकरणसम्बन्धी अध्यादेशबारे मन्त्रीहरुबीच नै विवाद भएपछि निर्णय हुन सकेन । आज बसेको मन्त्रीपरिषद् बैठकमा प्राधिकरण गठनसम्बन्धी अध्यादेश पारित गर्ने तयारी भए पनि प्राधिकरणको नेतृत्व कसले गर्ने भन्नेबारेमा मन्त्रीहरुबीच मत बाझिएपछि निर्णय हुन नसकेको हो ।

बैठकमा प्रधानमन्त्री सहित कंग्रेसका मन्त्रीहरुले योजना आयोगकै प्रस्ताव अनुसार प्रधानमन्त्रीको नेतृत्वमा प्राधिकरण गठन गर्नेगरी अध्यादेश निमार्ण गर्नुपर्ने प्रस्ताव गरेका थिए । तर एमालेका मन्त्रीहरुले प्राधिकरणको नेतृत्वका लागि एमाओवादीले इच्छा देखाएको र अध्यादेश ल्याउनुअघि उसँग पनि छलफल गर्नुपर्ने बताएपछि आजै अध्यादेशको प्रस्ताव पारित हुन नसकेको मन्त्रीपरिषद् स्रोतले रेडियो अन्नपूर्ण नेपाललाई बताएको छ ।  

यसअघि आजै प्रधानमन्त्री सुशील कोइरालाले अध्यादेश जारी गर्ने बिषयमा राष्ट्रपति रामबरण यादवसँग पनि परामर्श गर्नुभएको थियो । विहान राष्ट्रपति निवासमा भएको छलफलमा प्रधानमन्त्री कोइरालाले असार १० गते दाता सम्मेलन हुनुअघि नै प्राधिकरण गठन गर्नुपर्ने र त्यसका लागि अध्यादेशको आवश्यक परेकाले आजैको मन्त्रीपरिषद्ले अध्यादेश सम्बन्धी प्रस्ताव पारित गर्ने जानकारी गराउनुभएको थियो ।