रक्सी सेवनबाट कम्तीमा २७ जनाको मृत्यु
एजेन्सी,४ असार । भारतमा बिषालु रक्सीको सेवनबाट कम्तीमा २७ जनाको मृत्यु भएको छ । पश्चिमि मुम्बईमा युवाहरुको एक पार्टीमा गरिएको रक्सीको सेवनबाट १५ जनाको घटनास्थलमै र १२ जनाको उपचारको क्रममा अस्पातालमा मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
मृत्यु हुनेहरु अधिकांश २५ देखि ३० वर्ष उमेरका युवा रहेका छन् । रक्सी सेवनबाट अन्य दर्जनौ बिरामी परेका छन् । उनीहरु मध्ये ३३ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुले स्थानीय एक मदिरा पसलबाट खरिद गरेको मदिरा सेवन गरेका थिए ।
रक्सीको सेवनबाट उनीहरुको मृत्यु भएपछि प्रहरीले पसलका सञ्चालकलाई नियन्त्रणमा लिएको छ । भारतमा यसअघि पनि विषालु रक्सीको सेवनबाट सयौको मृत्यु भइसकेको छ । विषालु रक्सीको सेवनका कारण सन् २०११ मा वेष्ट बंगालमा १ सय ७० जनाको मृत्यु भएको थियो । त्यस्तै गुजरातमा सन् २००९ मा सय भन्दाको मृत्यु भएको थियो । सोहि वर्ष उत्तर प्रदेशमा ३० भन्दा बढीको विषालु रक्सी सेवनकै कारण मृत्यु भएको थियो ।