भूकम्पले झण्डै ३७ प्रतिशत बिकास खर्च भएन
मनीषा अवस्थी, ४ असार ।
भूकम्पका कारण चालू आर्थिक वर्षको पछिल्ला २ महिनामा विकास निर्माणका काम ठप्प भएपछि कूल बजेटको ६२ दशमलव ९३ प्रतिशत मात्रै खर्च भएको छ । सरकारले चालू आर्थिक वर्षका लागि लागि विनियोजन गरेको ६ अर्ब १८ अर्ब १० करोड बजेटमध्ये जेठ महिनासम्म ३ खर्ब ८८ अर्ब ९७ करोड ९९ लाख मात्र खर्च भएको अर्थमन्त्रालयले जानकारी दिएको छ ।
विनियोजित बजेटमा पुँजिगत खर्च सबैभन्दा कम भएको छ । चालु आर्थिक वर्षको अघिल्लो ११ महिनामा, विनियोजित पुँजिगत खर्च मध्ये १ खर्ब १६ अर्ब ७५ करोड मध्ये ४७ अर्ब ९९ करोड मात्रै खर्च भएको मन्त्रालयले जानकारी दिएको छ । सो खर्च कुल पूँजीगत खर्चको ४१ दशमलव ११ प्रतिशत हो ।
खर्चमध्ये सबैभन्दा बढी साधारण खर्च रहेको छ । हालसम्म भएका खर्चहरूमध्ये साधारण खर्चतर्फ ६७ दशमलव ७३ प्रतिशत भने वित्तीय व्यवस्थाको खर्च ६९ दशमलव ११ प्रतिशत रहेको छ । अर्थ मन्त्रालयले बजेट मध्यावधि समीक्षामा कुल बजेटको ९० दशमलव ६३ प्रतिशतभन्दा माथि खर्च हुने अनुमान गरेकोे थियो ।