Live Streaming

वीरगन्ज भन्सार कार्यालयको राजश्व असुली प्रभावित

क्रान्ति शाह

वीरगन्ज ,३ असार: भुकम्पका कारण जेठ महिनामा वीरगन्जको सिर्सिया सुख्खा  बन्दरगाहामा रहेको भन्सार कार्यालयको राजश्व असुली प्रभावित भएको छ । भुकम्पका कारण जेठ महिनामा सिर्सिया ड्राइपोर्टलाइ पाँच करोड १६ लाख ३३ हजार रुपैयाँं घाटा भएको छ । जेठ महिनामा भन्सार विभागले एक अर्ब ५१ करोड ४६ लाख ६३ हजार रुपैयाँं राजश्व संकलन गर्न दिएकोमा  सिर्सिया ड्राइपोर्टले लक्ष्यको ९६ प्रतिशत मात्र राजश्व संकलन गरेको प्रमुख भन्सार अधिकृत देवीप्रसाद भण्डारीले बताउनुभयो ।

सिर्सिया ड्राइपोर्टले जेठ महिनामा एक अर्ब ४६ करोड ३० लाख ३० हजार रुपैया राजश्व संकलन गरेको हो । सिर्सिया ड्राइपोर्टले  औसतमा दैनिक ६ करोड रुपैया राजश्व संकलन गर्ने गरेकोमा भुकम्प पछिका दिनमा राजश्व असुली दर दैनिक चारदेखि पाँच करोडमा झरेको भन्सार अधिकृत अम्बीका केसीले बताउनुभयो । भुकम्पका कारण गत बैशाख महिनामा पनि सिर्सिया ड्राइपोर्टमा रहेको भन्सार कार्यालयको राजश्व असुली प्रभावित भएको थियो ।

भुकम्पका कारण बैशाख महिनामा सिर्सिया ड्राइपोर्टलाइ ३५ करोड ६ लाख ७१ हजार रुपैयाँं घाटा भएको थियो ।  बैशाख महिनामा भन्सार विभागले एक अर्ब ४४ करोड ९६ लाख ८४ हजार रुपैयाँं राजश्व संकलन गर्न दिएकोमा  सिर्सिया ड्राइपोर्टले लक्ष्यको ७५ प्रतिशत मात्र राजश्व संकलन गरेको थियो ।  सिर्सिया ड्राइपोर्टले बैशाख महिनामा एक अर्ब ९ करोड ९ लाख १३ हजार रुपैयाँं राजश्व संकलन गरेको थियो ।

बैशाख १२ गतेको भुकम्प पछिको दिनमा भारतबाट सामान पैठारी निक्कै कम छ , भन्सार अधिकृत केसीले भन्नु भयो, यसकै कारण बैशाख र जेठ दुवै महिनामा विभागले दिएको लक्ष्य पुरा गर्न सकिएन । भारतबाट सिर्सिया ड्राइपोर्टमा अहिले आयात भइरहेका सामान पनि वीरगन्ज पथलैया औद्योगिक कोरिडोरकै कच्चा पदार्थ बढि रहेको उहाँले बताउनुभयो । सिर्सिया ड्राइपोर्टमा भारतबाट रेल मार्ग भएर फलाम ,सुपारी ,विदेशी मदिरा , मकै, गहु,चना , केराउ , जुस , काठका फर्निचर लगायतका सामान बढि मात्रामा आयात हुने गरेको छ ।