ग्रीसको चेतावनी
एजेन्सी,३ असार । ग्रीसको केन्द्रीय बैंकले जुन महिनाको अन्त्यसम्ममा अन्तराष्ट्रिय ऋणदाताहरुसँंंग सहमति हुन नसके ग्रीसले अन्तत युरोपेली एकल मुद्रा प्रणाली छाड्नुपर्ने हुनसक्ने चेतावनी दिएको छ । सहमति नभए ग्रीसमा गहिरो आर्थिक मन्दी आउने र त्यसका कारण आम्दानीमा नाटकीय गिरावट आउने तथा बेरोजगारी ह्वात्तै बढ्ने बैङ्कले बताएको छ ।
एकअर्कामाथि दोषारोपणका कारण ग्रीस र उसका ऋणदाताहरुबीच आर्थिक सुधारसम्बन्धी सम्झौता हुन नसकेको बैंकको भनाइ छ । सम्झौता नहुँदा थप करीब सवा ७ अर्ब युरो निकासा दिने काम रोकिएको छ । ग्रीक केन्द्रीय बैंकले आफ्नो प्रतिवेदनमा सम्झौता हुन नसके त्यसले एउटा पीडादायी यात्रा सुरु गर्ने, जसको सुरुवातमा ग्रीस टाट पल्टिने र अन्तत युरो क्षेत्र र सम्भवतः युरोपेली संघबाट ग्रीस बाहिरिने उल्लेख गरेको छ ।
बैंकले सो सम्झौता हुनु ऐतिहासिक आवश्यकता भएको समेत औंल्याएको छ । तर युरो मुद्रा प्रचलनमा रहेका मुलुकहरुको समूह युरो जोनले ग्रीसको ऋण मिनाहा गर्नेबारे अझै पनि सैद्धान्तिक रुपमा असहमत रहेको जनाएको छ । जुन महिनाको अन्त्यसम्म कसरी सहमति जुटाउने भन्ने विषयमा छलफल गर्न युरो जोनका अर्थमन्त्रीहरुबीच आज छलफल हुंदैछ । ऋण संकट समाधान गर्न ग्रिस र उसका अन्तराष्ट्रिय कर्जादाताहरुबिचको यसअघि भएको बार्ता बिना निष्कर्ष सकिएको थियो । ग्रीसले युरो जोनको ऋण तिर्ने मिति आउँदो जुन ३० मा सकिदैँछ